१९ सेप्टेम्बर, वार्सा — गएको तीन दशक भन्दा बढी समय देखि पोल्याण्ड मा कार्यरत प्रतिष्ठित नेपाली चिकित्सक तथा समाजसेवी डा. बोधराज सुवेदीको चरित्र हत्या गर्ने योजनावद्ध प्रयासको एनआरएनए पोल्यान्ड लगायत पोल्याण्डस्थित नेपाली संघसंस्था तथा समाजका अगुवाहरुले निन्दा गरेका छन्।
काठमाडौँबाट प्रकाशित हुने एक दैनिक प्रकाशनको अनलाइन संस्करण तथा एक साप्ताहिक पत्रिकामा “डा. सुवेदी मानव तस्करीमा संलग्न” भन्ने एउटा आधारहीन तथा झुट्ठा समाचार प्रकाशित गरिएको छ । डा. बोधराज सुवेदीले त्यस्ता समाचारहरुको खण्डन गर्दै प्रेस काउन्सिल नेपाललाई एक पत्र पठाए पछि प्रेस काउन्सिलले सम्बन्धित मिडियालाई डा. सुवेदीले पठाएको खण्डन जस्ताको तस्तै छाप्न निर्देशन दिएको छ ।
एक वक्तव्यमा डा. सुवेदीले भनेका छन्, ” आजभन्दा दुई बर्षअघि लक्जेमवर्गमा सम्पन्न एनआरएनएको युरोपेलि क्षेत्रीय सम्मेलनमा मानव तस्करी विरुद्ध मैले जोडदार आवाज उठाएको थिएँ। यस सम्बन्धी गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गतको आप्रवासी उपसमितिले तयारी गरेको एक अध्ययन प्रतिवेदन समेत एनआरएनए आइसीसीका तत्कालिन अध्यक्षज्यूलाई बुझाइएको थियो र सम्मेलनमा नेपालबाट आउनुभएका विशिष्ट प्रतिनिधिमार्फत नेपाल सरकारलाई समेत एक प्रति पठाइएको कुरा स्मरण गराउँदछु ।
साथै वर्षौं देखी पोल्याण्ड र अरु देशमा सम्पन्न हर कार्यक्रममा पनि मैले ” विदेशमा सके नेपालीहरुलाई सहयोग गरौं, नसके कम्तिमा दुख नदिउं” भन्ने नाराको माध्यमबाट मानव तस्करीले आप्रवासीहरुमा ल्याएका समस्याहरुको बारेमा आवाज उठाउंदै आएको छु।” “विगत ३० बर्षदेखि म पोल्याण्डमा रहंदै आएको छु।
आफ्नो मातृभूमिदेखि धेरै टाढा युरोपको पूर्वी भागमा आएर बस्दा प्रारम्भदेखि नै मैले कसैलाई पार्टीगत, गुटगत, जातिगत वा ठूलो सानो भन्ने भावनाले नहेरी नेपाली समाजको वृहत् एकता, हकहित र कल्याणका लागि पसिना बगाएको छु। मैले सबै नेपाली साथीहरुको सहयोगबाट एनआरएनए एनसीसी पोल्याण्डलाई स्थापित र व्यवस्थित गराउन सक्दो योगदान दिंदै आएको छु,” डा. सुवेदीले भने ।
एनआरएनए पोल्याण्डका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. सुबेदी एनआरएनए आइसीसीका सदस्य पनि हुन्। “डा. बोधराज सुवेदीज्यूलाई चिन्ने र जान्ने पोल्यान्डमा बस्ने हरेक नेपालीले सत्य र बास्तबिकताको पक्षमा बोलौं, समाजका फोहोर कसिङ्गरहरु तत्काल सफा गर्न जरुरी छ। एनआरएनए पोल्यान्डको साख बचाउन र पोल्यान्डमा रहेका नेपालीहरुको हकहितमा काम गर्ने, बोल्ने, सबैलाई अवसर, हौसला र कार्यगत वातावरण बनाउन सबै पोल्यान्डवासी नेपालीहरु लागि परौं,” एनआरएनए पोल्याण्डका सचिव सुसन परियार विसर्जनले भने।