२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

यूके नेपाल व्यापार तथा लगानी मञ्च स्थापना

1119 Shares
Spread the love

लन्डन । बेलायतस्थित नेपाली तथा बेलायती व्यवसायीहरु संलग्न यूके नेपाल व्यापार तथा लगानी मन्च गठन भएको छ ।

बेलायतका उद्यमी, व्यवसायी र लगानीकर्ताहरुको अगस्ट ५ तारिख बुधबार र १० तारिख सोमबार बसेको बैठकले मन्च गठनको निर्णय गरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । उक्त बैठकले संयुक्त अधिराज्य (यूके) को हाउस अफ लडर्सका सांसद तथा अल पार्टी पार्लियामेन्ट्री ग्रुप फर नेपालका उपाध्यक्ष सम्माननीय लर्ड शेखको अध्यक्षतामा युके नेपाल व्यापार तथा लगानी मञ्च गठन गरिएको हो ।

उक्त फोरमको उपाध्यक्षहरुमा सम्माननीय लर्ड करण विलिमोरिया, सम्माननीय भिस्काउण्ट वेभर्ली, महन्त बहादुर श्रेष्ठ, भगवानजी चौहान र रवीन्द्र जंग लामिछाने रहेका छन् । त्यसैगरि, फोरमको महासचिवमा आतम सन्धु र कोषाध्यक्षमा विकास नेपाल छन् । फोरमको संरक्षकमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी रहेको दूतावासले सोमबार जनाएको छ । १० अगस्ट २०२०, सोमबार मञ्च उद्घाटन सभामा बोल्दै राजदूत डा. सुवेदीले आर्थिक विकासका लागि नेपाल सरकारले लगानी मैत्री नीति कार्यान्वयन गरिरहेको बताए । उनले युके-नेपाल व्यापार तथा लगानी मञ्च बेलायत र नेपालबीच व्यापार, व्यवसाय र लगानीको प्रवद्र्धनमा कोसेढुंगा सावित हुने विश्वास समेत व्यक्त गरे ।

समारोहलाई सम्बोधन गर्दै मञ्चका नवनिर्वाचित अध्यक्ष तथा बेलायती सांसद सम्माननीय लर्ड शेखले मञ्चका माध्यमबाट नेपालमा बेलायती लगानी भित्रयाउने र बेलायतमा नेपालको व्यापार अभिवृद्धि गर्ने दिशामा सकारात्मक योगदान गरी नेपालको आर्थिक विकासमा सहयोग पुरयाउन प्रतिवद्ध रहने बताए ।

लर्ड शेखले लण्डन अन्तर्राष्ट्रिय व्यापार र लगानीको प्रमुख केन्द्र रहेको उल्लेख गर्दै नवगठित मञ्चद्धारा नेपालका व्यवसायीहरुको सम्पर्क र सम्बन्ध बेलायती सहित अन्तर्राष्ट्रिय व्यापारी र उद्यमीहरुसँग गराउँदै नेपाल सरकारको व्यापार, वाणिज्य तथा लगानी सम्बन्धी नीति तथा कार्यक्रमहरु वेलायतका व्यवसायी र लगानीकर्तासम्म पुरयाउने कार्यमा मञ्च प्रयत्नशील रहने प्रतिवद्धता समेत दिलाए ।

युके-नेपाल व्यापार तथा लगानी मञ्चले आगामी सेप्टेम्बर तेश्रो साता नेपालको व्यापार र लगानीमा केन्द्रित रही एक विशेष कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिक्रिया