लण्डन । नेपालीहरु बिदेशमा पनि आफ्नो प्रभावशाली उपस्थिति देखाउने क्रम बढ्दो छ। बिदेशमा ब्यबसाय, अध्ययन संगै बिभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा नेपालीहरु नेतृत्व तहमा पनि स्थापित भइरहेको छ। यसै सिलसिलामा हिजो सोमबार भएको बेजिंगस्टक मल्टिकल्चरल फोरमको ट्रष्टीहरुको बैठकले शिवजी श्रेष्ठलाइ आगामी कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

यस अघि लामो समय भारतीय र क्यारेबियन नेतृत्वको बाहुल्य रहेको यस फोरममा अफ्रिकन मुलुक नाइजेरियन मुलका अध्यक्षलाई बिस्थापित गर्दै पहिलो पटक नेपाली सो स्थानमा निर्वाचित भएको हो। यस फोरममा एसिया, अफ्रिका, क्यारेबियन, युरोप लगायतका १९ राष्ट्रबाट आएका आप्रवासीहरुको २७ वटा संगठन सदस्य रहेको छ।
बेजिंगस्टक डिन बरो काउन्सिल समेतको आर्थिक सहयोगमा संचालित यस फोरमको सन् १७७३ मा बनेको २४७ बर्ष पुरानो आफ्नै भवन रहेको छ। करिब २ लाख जनसंख्यामध्ये ९५ प्रतिशत ब्रिटिश गोराहरुको बाहुल्य रहेको यस क्षेत्रमा ५ प्रतिशत ब्लाक अफ्रिकन, एसियन आप्रवासीहरुको बसोबास रहेको छ।
अफ्रिकन, क्यारेबियन, एसियन तथा अन्य युरोपियन मुलुकबाट आएका बिभिन्न अल्पसंख्यक समुदायहरुलाई सरकारी स्तरमै एउटै छाता मुनि संगठित गर्दै उनीहरुको भाषा, धर्म संस्कृति, सामाजिक तथा शैक्षिक गतिबिधि संचालन गर्ने जिम्मेवारी रहेको यस संस्थाले कल्चरल डाइभर्सिटी, स्थानीय सरकारी निकायहरुसंग नेटवर्किंग गर्दै उनीहरुको जल्दोबल्दो समस्याहरुलाई सम्बोधन गर्ने गर्दछ ।

स्थानीय मेयरको प्रत्यक्ष संलग्नता रहने यस संस्थाले प्रत्येक बर्ष संसारभरबाट आएर यस भेगमा बसोबास गर्ने सम्पूर्ण देश र समुदायको प्रतिनिधित्व रहने गरी वर्ल्ड पार्टी आयोजना गर्ने गर्दछ। जसमा एकैपटक १० हज्जार भन्दा बढी व्यक्तिहरुको सहभागितामा बिभिन्न मुलुकका झाकी र सांकृतिक झलक एबम परिकारको स्वाद लिन पाइन्छ।
यसरी पहिलोपटक आफ्नो नेपाली समुदायका शिवजी श्रेष्ठ अन्तर्राष्ट्रिय फोरमको अध्यक्षमा निर्वाचित भएकोमा स्थानीय नेपालीहरुको संस्था बेजिंगस्टक नेपलिज कम्युनिटीले खुशी व्यक्त गरेको छ।
सो संस्थाका अध्यक्ष ओम गुरुङ तथा महासचिब नवराज राइले आफ्नो संस्थाका सल्लाहकार नै सो अन्तर्राष्ट्रिय फोरमको अध्यक्ष निर्वाचित भएकोमा गौरव लागेको भन्दै संस्थाको तर्फबाट बधाई ज्ञापन गरेका छन। यस संस्थाको सचिब पदमा भारतीय मुलका नितिन पाटिल निर्वाचित भएका छन। त्यसैगरी एन आर एन युकेका अध्यक्ष पुनम गुरुंगले पनि यस्ता अन्तर्राष्ट्रिय फोरममा नेपाली नेतृत्व निर्वाचित हुनु सबै नेपालीको लागि गौरवको कुरा भएको कुरा बताउनु भयो।
नवनिर्वाचित अध्यक्ष शिवजी श्रेष्ठले संसारभरबाट आएका आप्रवासीहरुको हक हितमा क्रियाशील रहदै नेपालीको नाम उच्च राख्न प्रयास गर्ने कुरा यस सम्बाददातासँगको कुराकानीमा बताउनु भयो।