२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बेलायत र युरोपबाट नेपालीलाई स्वदेश लग्न थप दुईओटा फ्लाइट

2078 Shares
Spread the love


लण्डन (जीएनएन) — बेलायतस्थित एक ट्राभल एजेन्सी, ट्राभल कन्सोल लिमिटेड, ले युरोपबाट नेपालीहरुलाई स्वदेश फर्काउन थप दुइओटा चार्टर्ड उडानहरु गर्न लागेको जनाएको छ ।
नेपाल सरकारसंगको समन्वयमा यही २९ जुन र २ जुलाईका दिन युरोपबाट नेपालीहरुलाई स्वदेश फर्काउन लागिएको ट्राभल कन्सोलका निर्देशक बिराज भट्टले बताए ।


ग्लोबल नेप्लिज न्युज नेटवर्कसंग कुरा गर्दै भट्टले विदेशमा अलपत्र परेका वा जरुरी कामले नेपाल फर्किनु पर्ने नेपालीहरुलाई लण्डन हिथ्रो, म्यान्चेस्टर, फ्र्यांकफर्ट, ओस्लो, एम्सटर्डम, पेरिस, म्याड्रिड, रोम, एथेन्स, ज्युरिख, ब्रसेल्स तथा कोपेनहेगनबाट कनेक्टिंग फ्लाइटमार्फत दोहा हुँदै काठमाडौं पुर्याउने व्यवस्था गरिएको जानकारी दिए ।


“नेपालमा अहिले पनि व्यावसायिक उडानहरुमा प्रतिबन्ध लागेकाले ती सबै शहरहरुबाट यात्रुहरुलाई दोहामा संकलन गरी दोहादेखि २ ओटा चार्टर्ड उडानमा काठमाडौँ लग्ने व्यवस्था मिलाइएको हो,” उनले भने।


“सबै फ्लाइट कतार एयरवेजमार्फत गरिनेछ । चार्टर्ड फ्लाइटको भाडा दर १ हजार १५० देखि १ हजार ३ सय यूएस डलरसम्म पर्नेछ”, निर्देशक भट्टले भने , “गन्तव्यअनुसार दोहामा ३ देखि ६/७ घण्टा सम्म ट्रान्जिट पर्न सक्छ । तैपनि हामी यसलाई छोटो बनाउने प्रयासमा छौँ ।”
यसअघि लन्डनस्थित नेपाली दूतावास तथा एनआरएनए युकेको पहलमा जुन २४ र २६ तारिखमा जजीरा वायुसेवाका २ ओटा चार्टर्ड उडानहरुमा २२९ जना नेपालीहरु बेलायतबाट नेपाल फर्किएका थिए।

प्रतिक्रिया