२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

विदेशमा अलपत्र परेका नेपालीलाई निशुल्क उद्धार गर्न आचार्यले प्रधानमन्त्री ओलीलाई गरे आग्रह

1058 Shares
Spread the love

लन्डन — गैर आवासीय नेपाली संघका पूर्व केन्द्रिय उपाध्यक्ष कुल आचार्यले कोरोना संकटका कारण खाडी लगायतका मुलुकमा रोजगारी गुमाएका र फर्कनलाई कुनै स्रोत नभएका नेपाली नागरिकहरुलाई निशुल्क स्वदेश फर्कने प्रबन्ध मिलाउन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

प्रधानमंत्री केपी शर्मा ओलीलाई एक पत्र पठाउंदै आचार्यले स्वदेश फर्कन चाहने नेपालीहरुमा सुत्केरी महिला, गर्भवती तथा बेखर्ची नेपाली नागरिकहरु पनि रहेको र उनीहरु महँगो चार्टर्ड विमानको टिकट काट्न सक्षम नरहेको जनाएका छन्।

सर्वोच्च अदालतको आदेश बमोजिम वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम प्रयोग गरेर प्राथमिकताका आधारमा नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई तत्काल उद्धार गर्न पनि उनले आग्रह गरेका छन्।

आचार्यले पठाएको पत्र जस्ताको तस्तै:

सम्माननीय प्रधानमन्त्रीज्यू,

प्रधानमंत्री तथा मन्त्रिपरिषद्को कार्यालय

सिंहदरबार, काठमाडौँ

महोदय,

कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई ढिलै भए पनि नेपाल सरकारले स्वदेश फर्काउन शुरू गरेको छ, जुन स्वागत योग्य छ । यो निर्णयले विदेशमा अलपत्र परेका नेपाली दाजुभाइ दिदीबहिनीले अवश्य लाभ लिनेछन्, तर स्वदेश फर्काउंदै गर्दा अलिकति विवेक पुर्याउन पर्ने कुरामा सरकार चुकेको अनुभूति गरेको छु। हाम्रा छिमेकीहरु भारत, पाकिस्तान, बांगलादेशका सरकारहरुले पनि आफ्ना नागरिकहरुलाई सहुलियत दरमा स्वदेश फिर्ता गरिरहेको स्मरण गराउन चाहन्छु।

खाडी मुलुकमा काम गर्दागर्दै रोजगारी गुमाएका नेपाली दाजुभाइ, दिदी बहिनीहरुलाई चार्टर्ड उडानको महँगो टिकट किन्न भन्नु कत्तिको उपयुक्त होला? नेपालमा घरबारी धितो राखेर, महँगो ब्याजमा ऋण लिएर रोजगारीका लागि विदेश गएका धेरै नेपाली अहिले बेखर्ची हुनुहुन्छ। उहांहरु टिकट किन्ने त कुरै छाडौं, आफ्नो खर्चमा पीसीआर परिक्षण गर्न वा नेपाल आएर होटेल क्वारेन्टाइनको खर्च ब्यहोर्न पनि सक्नु हुन्न।

स्वदेश फर्कन चाहने नेपालीहरुमा कोही सुत्केरी महिला हुनुहुन्छ, कोही गर्भवती। कतिपय नेपालीहरुले कम्पनीले कामबाट निकालिदिएको कारणले महिनौंदेखि साथीभाइ, संघसंस्था र एनआरएनए एनसीसीहरुको सहयोगमा ज्यान बचाइरहनु भएको छ। १०० भन्दा बढी शवहरु पनि नेपाल ल्याउनु पर्ने छ।

सम्मानित सर्वोच्च अदालतले विश्वभर कोरोनाको संक्रमणका कारण रोजगारी गुमाएर बसेका र फर्कनलाई कुनै स्रोत नभएका नेपाली नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम प्रयोग गरी उद्धार गर्न आदेश दिएको छ।

आफ्नो रगत, पसिना बगाएर देशको अर्थतन्त्र धानी रहेका नेपालीहरुलाई गाह्रो, साह्रो पर्दा देशले र सरकारले हेर्नु पर्ने यस्तै बेलामा हैन र? त्यसैले सांच्चिकै पीडा व्यहोरिरहेका यी नागरिकहरुलाइ तत्काल, निशुल्क विशेष हवाइ उडानहरू मार्फत स्वदेश फर्काउनको निमित्त निर्देशन दिनुहुन अनुरोध गर्दछु।

कुल आचार्य

पूर्व केन्द्रिय उपाध्यक्ष

एनआरएनए आइसीसी

लन्डन

१९ जुन २०२०

प्रतिक्रिया