लन्डन । संयुक्त अधिराज्य बेलायतस्थित नेपाली दूतावासले नेपाल फर्कन चाहनेका लागि सूचना जारी गरी शुक्रबारसम्म नाम टिपाउन आग्रह गरेको थियो ।
विदेशमा रोकिएका नेपालीलाई फर्काउने सरकारको नीतिअनुसार दूतावासले आव्हान गरेको समयभित्र ३ सय ५० नेपालीले आफ्नो विवरण उपलब्ध गराएको दूतावासका प्रवक्ता शरदराज आरनले बताए ।
विद्यार्थीहरू जागिर गुमेको र पढाइ पनि अनिश्चित कालका लागि स्थगित भएपछि आत्तिएका छन् । पानीजहाजमा कार्यरत करिब दुई दर्जन नेपाली पनि लकडाउनले फसेको बताइन्छ । ‘हामी संकलित सबै विवरण सरकारलाई पठाउँछौं । लन्डनबाट सिधा चार्टर गर्ने वा ट्रान्जिटसम्म आफ्नै तरिकाले गएर कनेक्टिङ पोइन्टबाट नेपाल लैजाने भन्ने विकल्पबारे छलफल भइरहेको छ’, आरनले भने ।
नेपाल सरकारले जेठ १२ गते कोभिड–१९ का कारण विदेशबाट फर्कनै पर्ने अवस्थामा रहेका नागरिकलाई फिर्ता ल्याउने निर्णय गरेको थियो । सरकारको निर्देशन अनुसार दूतावासले बेलायत, आयरल्यान्ड र माल्टामा रहेका नेपालीको तथ्यांक संकलन गरिरहेको छ । गैरआवासीय नेपाली संघ बेलायतले संकलन गरेको विवरण पनि दूतावासलाई हस्तान्तरण गरेको छ । फर्कन चाहनेले उडान निश्चित भएपछि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षणको प्रमाण पेस गर्नुपर्नेछ भने नेपाल पुगेपछि १४ दिन आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्नुपर्नेछ । स्वदेश फर्कनेले हवाईजहाज भाडा, होटलमा खान र बस्न लाग्ने खर्च आफै वेहोर्नु पर्नेछ ।
विमानस्थल पुगेपछि प्रत्येक यात्रुलाई काठमाडौंको चक्रपथआसपास रहेका होल्डिङ सेन्टरमा राखी आवश्यक प्रक्रिया पूरा भएपछि सम्बन्धित जिल्लामा रहेका क्वारेन्टाइनमा पठाइनेछ । यस्तो परिस्थितिमा टिकटसमेत निकै महँगो पर्ने भएकाले आपत्कालीन अवस्थामा रहेका बाहेक अरूलाई सकभर नफर्कन सुझाव दिइएको उपनियोग प्रमुख आरनले बताए ।