२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नवराज विक प्रकरणबारे बेलायतबाट नेपाली वेलफयर सोसाइटीको सरकारलाई ज्ञापनपत्र

1203 Shares
Spread the love

लन्डन । नेपाली वेलफेयर सोसाइटी यूकेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको छ । नेपालमा दलित समुदायमा भइरहेको अत्याचार रोक्न आग्रह गर्दै नेपाली दूतावास लन्डनमार्फत् सोसाइटीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।

सोसाइटीका अध्यक्ष धनबहादुर सार्की र सचिव शमशेर नेपालीले जारी गरेको विज्ञप्तिअनुसार आजको २१ औं शताब्दीको वैज्ञानिक युगमा बेलायतमा रहेर पनि दक्षिण एसियाली जातव्यवस्था र यसले भारत, नेपाल, श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, मालदिभ्स लगायतका मूलकका करोडौं नागरिकहरु माथि गरेको विभेद उत्पीडनको सेवाले उठाउनु पर्दा पीडा महसुस भैरहेको छ ।
मानवमानव बीचको समानता, समता र भातृत्वको अन्तरराष्ट्रिय एजेण्डा बिपरीत हाम्रो मातृभूति नेपालमा कथित उच्च जातिय अहंकारवादले जातव्यवस्था भित्रको श्रमजीवी दलित समुदायमाथि गर्दै आएको अपमान, बहिस्कार र श्रृखंलावद्ध हत्याका घटनाहरुले विश्वमानचित्रमा नेपाललाई कलंकित बनाएको छ ।

अन्तरजातिय प्रेम सम्बन्धकै कारण यही जेठ १० (२३ मे) रुकुमको चौरजहारीमा दलित युवाहरु माथि गरिएको सांघातिक हमला र क्रुर हत्याकाण्डले बेलायतवासी हामी सम्पूर्ण नेपालीहरुलाई आक्रोशित र पीडाबोध भएको महामहिम राजदूतमार्फत प्रधानमन्त्रीसमक्ष अवगत गराउदै, अन्तर जातिय विवाह एवं प्रेम गरेकै र भएकै कारण विगतमा काभ्रेका अजित मिजार, दैलेखका सेते दमाई, सप्तरीका शिवशंकर दास, झापाकी अस्मिता तोलाङ्ग सार्की, तनहुकि संगीता परियार, सिन्धुपाल्चोक कि माया तिरुवा, म्याग्दीकी सविता नेपाली लगायतका दलित युवायुवतीहरुको श्रृखंलावद्ध रुपमा गरिएको हत्याका घटनाहरुको आजसम्म पनि राज्यले न्यायिक समाधान गर्न सकिरहेको छैन ।

बरु घटनामा संलग्न अभियुक्तहरुको मनोबल बढ्दै गइरहेको छ । कानुनको धज्जी उडाँउदै कथित उच्च जातिय अहङकारवाद जुरमुराउँदै छ । रुकुम चौर जहारी हत्या प्रकरण यहि जातिय अहङकारवादको दुःखद् परिणाम भएको बेलायत स्थित हाम्रो सामाजिक संस्था नेपाली वेलफेयर सोसाईटी युकेको बुझाई रहेको राजदूतमार्फत प्रधानमन्त्री समक्ष व्यक्त गर्दछौं ।

अन्त्यमा संविधानले वर्जित गरिसकेको एवं जातिय भेदभाव तथा छुवाछुत (कसुर सजाय) ऐन २०६८ ले विभेद विरुद्ध दण्ड सजाय व्यवस्था गरिसकेको वर्तमान सन्दर्भमा रुकुमको चौर जहारी हत्याकाण्डको निष्पक्ष छानविन गरि दोषीलाई हदैसम्मको कानुनी कारवाही गर्न, हत्या गरिएका नवराज बिक, टिकाराम सुनार, गणेश बुढामगरका परिवारजनलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन एवं वेपत्ता बनाइएका ३ जना युवाहरुको स्थिति सार्वजनिक गरि भयमुक्त समतामूलक समाज निर्माण गर्न राजदूतमार्फत नेपाल सरकार समक्ष अनुरोध गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।

वेलफेयर सोसाइटीको ज्ञापनपत्र १
वेलफेयर सोसाइटीको ज्ञापनपत्र २

प्रतिक्रिया