२०८१, ६ चैत्र बिहीबार
×

ट्रेन्डिङ

“एक एनआरएन एक रोजगार” का लागि आचार्यले गरे आह्वान

977 Shares

लण्डन — गैर आवासीय नेपाली संघका पूर्व केन्द्रिय उपाध्यक्ष कुल आचार्यले “एक एनआरएन एक रोजगार” को अवधारणा लागू गर्न आह्वान गरेका छन्।

लन्डन नेपाल न्युजसंगको लाइभ अन्तर्वार्तामा बोल्दै आचार्यले कोरोना संकटका कारण ठूलो संख्यामा स्वदेश फर्कने नेपाली युवा, युवतीहरुलाई विदेशमै बसी रहेका गैर आवासीय नेपालीहरुले रोजगार सिर्जना गर्न सघाउनु पर्ने सुझाव दिए ।

“कोरोनाले हामीले सोंचे भन्दा धेरै ठूलो संकट खडा गरेको छ, त्यसैले नयां ढंगले सोचेर अगाडी बढ्नु पर्ने अवश्यकता छ,” उनले भने ।

प्रस्तोता शिव भण्डारीको एक प्रश्नको जवाफमा आचार्यले यो धरानबारे विज्ञहरु र साथीहरुसंग सरसल्लाह गरेर अगाडी बढ्नु पर्ने पनि बताए ।

“संसारभरका देशहरुले आफ्ना नागरिकहरुलाई फर्काएका छन्। आफ्नो देश फर्किन चाहने प्रवासी नेपालीहरुलाई नेपाल सरकारले तत्काल फर्काउन पहल गर्नुपर्छ । प्रवासमा रहेका नेपालीहरुलाई प्रवासमा सिकेको सीप र ज्ञानलाई लगानी गरेर उद्यमसिलतामा लगाएर आर्थिक क्रान्तिमा मुलुकलाई लिएर जाने अवसर छ । यसको लागि सरकार, वित्तीय क्षेत्र र गैर आवासीय नेपाली लगानीकर्ताहरुलाई एक ठाउंमा ल्याएर एउटा मोडेल बनाएर कामगर्न सकिन्छ,” आचार्यले भने ।

नेपाल फर्कन चाहने नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल फ़र्काउनु पर्छ भनेर आफुले ध्यानाकर्षण गरेको भोलिपल्ट गैर आवासीय नेपाली संघले पनि सरकारसंग गैर आवासीय नेपालीहरुलाई फर्काउन अनुरोध गरेको खबर सुनेर खुशी लागेको उनले बत़ाए ।

अहिले कोरोनाका कारण नेपाल बाहिर नेपालीहरु प्रभावित भएको र धेरै नेपालीहरुको मृत्यु भएको हुँदा संघले आफ्ना सदस्यहरुको जीवन रक्षामा ध्यान दिनु पर्छ, उनले भने ।

कोरोना संकटकाबेला व्यक्तिगत स्वार्थ त्यागी बिश्वभर फैलिएका गैर आवासीय नेपालीहरुको हकहितको लागि काम गर्न उनले सबैलाई आह्वान पनि गरे ।

“इजरायलका साथीहरुले नेपाल फर्केर कृषिमा राम्रो गरिरहनु भएको छ, उहांहरुको अनुभव र सीपबाट हामी सिक्न सक्छौं । कृषि क्षेत्रले नेपालमा हजारौं युवाहरुलाइ रोजगारी दिन सक्छ,” उनले भने।

कोरोनाका केही सामान्य लक्षणहरु देखिए पछि डाक्टरको सल्लाह अनुसार औषधि खाएर आफु घरमै बसेको र अहिले निको भएको उनले बताए । आचार्यले गैर आवासीय नेपाली संघको वर्तमान नेतृत्वको कार्यकलापबारे कुनै टिप्पणी गर्न भन्दा पनि अहिले सबै एकजुट भएर अगाडी बढ्नु पर्ने बेला भएकोमा जोड दिए । उनले एनआरएन कोरिया, हंगकंग, चीन, मकाउ, एनआरएन युएस, अस्ट्रेलिया, युके लगायत कोरोना पीडित नेपालीहरुको सहयोगमा खटीरहेका सबै एनआरएन एनसीसी र गैर आवासीय नेपाली मित्रहरुलाई धन्यवाद पनि दिए ।

प्रतिक्रिया