
लण्डन :- गैर आवासीय नेपाली संघका पुर्व उपाध्यक्ष कुल आचार्यले प्रवासमा दुख पाएका नेपालीहरुको रक्षाको लागि पहल गर्न सरकार र सम्बन्धित निकायहरुसंग अनुरोध गरेका छन् ।
साइप्रस ,मलेसिया , बंगलादेश तथा गल्फका नेपालीहरुले स्वदेश फर्किन सरकारसंग सार्वजनिक अनुरोध गरिरहेको अवस्थामा छ भने सर्बोच्च अदालतले प्रवासका नेपालीहरुको उद्दार गर्न सरकारलाई आदेश नै दिएको अवस्था छ ।
“प्रवासबाट आउंदैमा सबै प्रवासी कोरोना लिएर आउने भन्ने गलत नजिर बस्ने गरि अनावस्यक प्रचार प्रचार गरेर प्रवासीहरुको मन नदुखाईदिनका लागि पनि सार्वजनिक अपिल गरेकाछन् । प्रवासीहरु कोरोनाले भन्दा भोक र परिवार संगको बिछोडको पिडाले फर्किन चाहेका हुन् यसर्थ स-सम्मान उद्दार गरेर सहयोग गर्न अनुरोध गर्दछु” आचार्यले भने ।
घरघरमा रातो स्टिकर टास्ने , प्रवासबाट आउनेको रिपोर्ट गर्नेलाई उपहारको ब्यबस्था गरेर प्रवासीहरुलाई आतंकित गर्नु भन्न्दा राम्रोसंग काउन्सिलिङ्ग गरेर क्वारेन्टायनमा राख्न सकिने कुरा आचार्यले बताए । प्रवासीहरु मातृभूमिमा कोरोना नजाओस भन्नेमा धेरै सचेत र चिन्तित छन् । विदेशबाट जानेहरुले आफन्तलाई संक्रमण नहोस भनेर २ साता क्वारेन्टायनमा बस्दिन पनि भनिरहेका छैनन् । कतिपय देशमा त आफै भाडा तीरेर जान्छु प्रबन्ध मिलाईदेउ सम्म भनिरहेको अवस्था छ ।
यो अवस्थामा कसैले पनि प्रवासीको मन नदुखाईदिन आचार्यले अनुरोध गरे । आचार्यले गैर आवासीय नेपाली संघलागायत धेरैले सरकारले प्रवासबाट नेपाल फर्किन चाहनेहरुलाई सहयोग गरे तिनलाई ब्यबस्थित गरेर क्वारेन्टायनमा राख्ने व्यवस्थापनमा सहयोग गर्न पनि अनुरोध गरे ।
उनले भूपू गोर्खा , बिद्यार्थी , श्रमिकहरु अनि प्रवासका नेपालीहरु धेरैजना कोरोनाको असरबाट प्रभावित भएको , रोग बाट भन्न्दा परिवार, काम र बन्द कोठामा बस्नुको पिडाले विछिप्त भएको अनि खान र बस्न समस्या रहेको बखत प्रवासीहरुको घाउमा नुन नछर्किदिन बरु सके स्नेह र मलम लगाउन सहयोग गर्न मिडिया , राजनीतिक दल र सरकार समक्ष अनुरोध पनि गरेका छन् ।
आचार्यले फेसबुक मार्फत जारिगरेको बक्तब्य जस्ताको तस्तै :
आदरणीय सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरु,
आज कोरोना महामारीले बिश्व आक्रान्त छ । हरेक व्यक्तिको ज्यान जोखिममा रहेको छ । यो संकटको घडीमा
कोरोनासंग लडीरहनु भएका सबैको स्वास्थ्य लाभको कामना गर्दछु, दिवंगत आत्माहरुको चीर शान्तिको कामना
गर्दछु ।
म आफै पनि केही लक्षणहरु देखा परेर आइसोलेसनमा रहेर स्वास्थ्य लाभको क्रममा छु । “बाँचौं र बचाउँ,
महामारीबाट जोगिउं” भन्ने मूल मर्म अनुरूप यो महामारीमा पनि फ्रन्टलाइनमा रहेर नेपाल लगाएत बिश्वभर सेवागरिरहनु भएका नेपाली लगायत तमाम स्वास्थ्यकर्मी, अत्यावश्यक सेवामा कार्यरत सेवाकर्मीहरुको उच्च सम्मान गर्न चाहन्छु ।
हिजो बिबिध कारणले मातृभूमिको अर्थतन्त्र धरासायी भएको बेला आफ्नो पसिना र रगत बगाएर प्रवासबाट
रेमिटान्सले धानेका खाडी, मलेसिया लगायत बिश्वभर छरिएर बसेका मजदुरहरुको योगदान अवस्य पनि
उल्लेखनीय छ ।
प्रवासबाट कैयौं दिदी बहिनी, दाजुभाइहरु खाडीमा एकै कोठामा कोचिएर जेल जस्तो जीवन बिताइरहेको, औषधि, खानाको संकट परेको खबर छन् । स्थानीय प्रतिनिधिहरुले सहयोग गरिरहनु भएका खबर पनि आएका छन् । वहाँहरुको पहललाइ हार्दिक धन्यवाद दिन चाहन्छु । ती अधिकांश नागरिकहरु घर फर्किन चाहेका छन् ।
साइप्रस, मलेसिया लगायत अन्य देशहरूबाट धेरै नेपालीहरू घर फर्किन चाहेका छन् । राज्यका नागरिकको अभिभावक सरकारलाई मजदुरको देश हुन्छ र मातृभूमि र परिवार हुन्छ भन्ने गतिलो सन्देश दिने अवसर सरकारलाइ रहेको छ ।
आज घर फर्किन चाहने नागरिकलाई जसरी बिश्वले स्वदेश फर्काइ क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिरहेको छ । त्यसरी नै नेपाल फर्काइ नेपालमा क्वारेन्टाइनको व्यवस्था गरेर १४ दिन पछि घर फर्काउने पहल गर्न सरकारसंग
अनुरोध गर्दछु ।
म नेपाल सरकार र सम्बन्धित संघसंस्थाको ध्यान आकर्षण गराउन चाहन्छु । गैर आवासीय नेपाली संघका साथीहरु अहोरात्र खटिरहनु भएको छ । वहाँहरुको उच्च सम्मान गर्दै तमाम घर फर्किन चाहने प्रवासीहरुलाई सुरक्षित रुपमा आफ्ना परिवारसम्म पुर्याउन केके गर्न सकिन्छ त्यहाँ ध्यान केन्द्रित गर्न जरुरी देखेको छु ।
हाल नेपाल बाहिर प्रवासमा धेरै नेपालीहरुले ज्यान गुमाएको संकटको घडीमा, जन्म घरबाट टाढा प्रवासमा
रहेकाहरूलाई सबै भन्दा धेरै मातृभूमीको माया र स्नेहको खाँचो देखेको छु ।
बेलायतमा धेरै भूपू गोर्खा बुवाआमा, आफन्तहरु गुमाउनु परेको पीडा हामीलाई छ । हामीले भूपू गोर्खाहरुको
बिशेष सुरक्षा अपनाउनु पर्ने अवस्था देखिएको छ । अनि बेलायत सरकारलाई तिनको बिशेष हेरचाहको लागि
पनि अनुरोध गर्नुपर्ने अवस्था छ ।
पोर्चुगल, माल्टा, स्पेन, इटली लगायतका प्रवासीहरूको समस्या अनि कतीपय काग़ज़को समस्याले
अप्ठेरोमा परेकाहरूलाई सहयोग ज़रूरी देखिएको छ ।
त्यसै गरेर बेलायत, साइप्रस लगायत विभिन्न देशमा नेपाली बिद्यार्थीहरुले दुख भोगी राख्नु भएका खबरहरु
आएका छन् । वहाँहरुलाई खाना, बस्न लगायत सहयोग गर्ने प्रवासी मनहरुलाई हार्दिक नमन गर्दछु । वहाँहरुलाई
उचित रेखदेख गर्नुपर्ने अवस्था देखिएको छ ।
यस्तो बेला व्यक्तिगत र सामूहिक रुपमा सक्दो सहयोग गर्न हामी सबै एकजुट हौं ।
यो बेला फुटेर हैन जुटेर अघि बढ्ने बेला हो । कुनै पदमा रहे पनि वा नरहे पनि मातृभूमीको ऋण तिर्न र सबै गैर आवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरुको सक्दो सेवा गर्न म संधै
तत्पर रहेको कुरा फेरी पनि जाहेर गर्न चाहन्छु ।
दुखमा परेका प्रवासका नेपालीहरुलाई आवश्यकता हेरी गैर आवासीय नेपाली संघको सहकार्यमा आफ्नो तर्फबाट पनि सानो सहयोगस्वरूप रू ५ लाख उपलब्ध गराउने प्रतिबद्धता जनाउन चाहन्छु । सबैसंगै मिलेर सहमति, सहकार्य र एकताको भाव संगै अघि बढ्न तमाम ग़ैरआवासीय नेपाली साथीहरु तथा नेपाली मनहरूमा हार्दिक अपिल पनि गर्दछु ।
कुल आचार्य
लण्डन
१८ अप्रिल २०२०