२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

अदालतमा उपस्थित नै भएनन्, फेरि कहाँ गए नुरप्रसाद अधिकारी ?

2796 Shares
Spread the love

स्वर्गीय बाबु नन्दप्रसाद र आमा गंगामायासँग नुरूप्रसाद अधिकारी (बीचका)


चितवन : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारी अदालतमा उपस्थित भएनन् । अदालतले उनलाई सोमबार हाजिर हुन मिति दिएको थियो ।

चितवन जिल्ला अदालतले साउन २० गते नुरप्रसादलाई भदौ ४ गते अदालतमा झिकाउन आदेश गरेको थियो । अदालतको आदेशपछि नुरप्रसादको गोरखास्थित घरमा रितपूर्वक मिति तामेली गरिएको अदालतका साक्षी संरक्षण अधिकृत गम्भीर घिमिरेले बताए ।

तोकिएको मितिमा नुरप्रसाद अदालत हाजिर नभएपछि भदौ २४ गते आइबारका लागि मुद्दाको पेशी तोकेको घिमिरेले बताए ।

यसअघि फागुन १३ गते अधिकारीलाई झिकाउन म्याद जारी गरिएको थियो । त्यस समयमा जिल्ला अदालत गोरखाका कर्मचारीहरुले व्यक्ति र परिवार नभेटेपछि घर नजिकैको चौताराको पिपलको बोटमा म्याद टाँसेका थिए । त्यो काम रितपूर्वक नभएको भन्दै बदर गरी पुनः म्याद जारी गरिएको थियो ।

कृष्णप्रसाद अधिकारीको वि.सं २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमङ्गलामा हजुरबुबा भेट्न आएको समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो ।

चितवन जिल्ला अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमा समेत निवेदन पुगेपछि एकजना अभियुक्त छविलाल पौडेललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो ।

त्यही आदेशअनुसार असार २४ गते उनी सर्वोच्च अदालत समक्ष हाजिर भएका थिए । अदालतले त्यही दिन उनलाई डिल्लीबजार कारागार चलान गरेको छ ।

यो मुद्दामा गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजिव भन्ने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, रुद्र आचार्य, कालिप्रसाद अधिकारी, “भीमसेन” भन्ने भिष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीलाई विपक्षी बनाई चितवन अदालतमा मुद्दा दायर भएको छ । रासस

प्रतिक्रिया