२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

नागरिकता बिद्येयक सच्याउन जनसम्पर्क समितिको माग

2564 Shares
Spread the love

न्यूयोर्क,जनसम्पर्क समिति अमेरिकाले अहिले संसदमा प्रस्ताव गरिएको नागरिकता बिद्येयकलाई सच्याउन माग गरेको छ । जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले मंगलबार एक बिज्ञप्ती जारी गर्दै प्रस्तावित बिद्येयकमा नागरिकता त्यागेको प्रमाण जस्ता बुंदा सच्याउन माग गरेको हुन् ।
सभापति बिष्टले जारी गरेको बिज्ञप्ती यस प्रकार छ ।
प्रेस विज्ञप्ति
मिति: अगष्ट १४,२०१८

प्रवासमा रहेका हामी आम नेपालीहरुको निरन्तरको मागलाई सम्बोधन गर्दै हाम्रो मातृ पार्टी नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको प्रधानमन्त्रीत्वकालमा घोषणा भएको नेपालको वर्तमान संविधानमा गैर आवासीय नेपालीहरुलाई नागरिकता दिने व्यवस्था गरिएको अवगत नै छ । संविधानमा सुनिश्चित गरिएको गैर आवासीय नेपालीलाई नागरिकता दिने व्यवस्थालाई कानुन बनाउन वर्तमान सरकारले नागरिकता ऐन संशोधन विधेयक मस्यौदा तयार गरी संसदमा पेश गर्न लागेको छ । विधेयकमा रहेका केही बुंदाहरुप्रति यस नेपाली जनसम्पर्क समिति,अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकार गैर आवासीय नेपालीहरुप्रति सकारात्मक नरहेको र मन्त्रीपरिषदका जिम्मेवार सदस्यहरुले नै प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुलाई भूतपूर्व नेपाली भनि अपमानित गर्ने गरेको तथ्य जगजाहेर नै छ । आफ्ना नागरिककाप्रति जिम्मेवार हुनुको सट्टा यस्ता अशोभनीय अभिव्यक्ति दिने मन्त्रीपरिषदका सदस्यलाई सचेत समेत नगराउने कार्य गरेर प्रधानमन्त्री केपी ओलीले प्रवासमा रहेका नेपालीहरुका प्रति आफ्नो दृष्टिकोण समेत त्यस्तै रहेको संकेत गरेका छन् ।
अहिले सरकारका तर्फबाट तयार गरिएको नागरिकता ऐन संशोधन विधेयकमा गैर आवासीय नेपालीलाई दिइने नागरिकता लिनका लागि जे जस्तो कानुनी प्रावधान मस्यौदामा राखिएको छ त्यसका प्रति नेपाली जनसम्पर्क समिति,अमेरिका आपत्ति प्रकट गर्दछ । सार्क राष्ट्र बाहेकका नेपाली जसले विदेशी नागरिकता लिएका छन् र उनीहरुले पुन: नेपाली नागरिकता लिनका लागि नेपाली नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्नेछ भन्ने व्यहोराका प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नागरिकता व्यक्तिको अधिकारको विषय हो । नागरिकता ऐन २०६३ पनि विदेशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता कायम नरहने व्यवस्था गरिएको छ । यस्तो अवस्थामा नेपाली नागरिकता स्वत: खारेज हुनेछ । तर सरकारले अहिले एनआरएन नागरिकता पाउनका लागि वंशजको आधारमा लिएको पुरानो नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्ने भन्ने जुन प्रावधानको व्यवस्था गर्न लागेको छ, यो व्यवस्था विदेशमा बस्ने नेपालीहरुलाई नागरिकता नदिने गरी कानुनी भाषा मिलाएर समस्या सिर्जना गर्न लागिएको अर्थमा हामीले बुझेका छौं । दोश्रो देशको नागरिकता लिइसकेपछि नेपालको पुरानो नागरिकता स्वत: खारेज हुने हुनाले वर्तमान सरकारका तर्फबाट तयार गरिएको विधेयकमा नागरिकता त्यागेको प्रमाण माग्नु भनेको अन्तत: गैर आवासीय नेपालीहरुलाई नागरिकता नै दिन नचाहेको हो भन्ने हाम्रो ठहर छ । यस्तो व्यवस्थाले झन् जटिलता थप्दै समस्या सिर्जना गर्नेछ ।
अमेरिका,क्यानडा जस्ता मुलुकमा पुरानो नागरिकता त्यागेको प्रमाण विना नै आवश्यक कानुनी प्रावधान पुर्याएर नागरिकता लिन सक्ने व्यवस्था छ । तसर्थ अहिले मस्यौदामा समावेश यस्तो बुँदा तत्काल हटाइयोस् र सहज रुपमा गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरियोस् भनि हामी जोडदार माग गर्दछौं ।
प्रवासमा रहेका नेपालीहरुले मातृभूमिका लागि गरेको लगानी र देशको अर्थतन्त्रमा पुर्याएको योगदानको वर्तमान सरकारले सही मूल्यांकन गर्न सकेको छैन । देशको अर्थतन्त्रको एक महत्वपूर्ण पाटो आज रेमिट्यान्स नै बन्न पुगेको छ । तर देशको आर्थिक,बौद्धिक र अन्य क्षेत्रमा संमृद्धिका लागि योगदान गरेका आम प्रवासी नेपालीहरुलाई संविधान प्रदत्त नागरिकता अधिकार सहज रुपमा दिलाउनका लागि हामी वर्तमान सरकार समक्ष अनुरोध गर्दछौं ।
साथै यो विषयलाई हामी नेपाली कांग्रेस लगायत सबै दलका माननीय सदस्यहरुलाई दलीय स्वार्थभन्दा माथि उठेर गैर आवासीय नेपालीहरुलाई सहज ढंगले नागरिकता पाउने कानुनी व्यवस्था गर्नका लागि संसदमा आवाज उठाउन अपील समेत गर्दछौं ।

धन्यवाद,
जय नेपाल

भवदीय

आनन्द विष्ट
अध्यक्ष,नेपाली जनसम्पर्क समिति,अमेरिका
एवं आमन्त्रित केन्द्रीय सदस्य,नेपाली कांग्रेस

प्रतिक्रिया