
शान्ति लिम्बु, लण्डन/ आगामी शनिबार अगस्ट ११ मा बरिष्ठ साहित्यकार, राजनीतिक चिन्तक तथा बिश्लेषक खगेन्द्र संग्रौलासंग एक अन्तरकृया कार्यक्रम हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ बेलायतको निम्तामा बेलायत आएका संग्रौलासंग अन्तरकृया हुन लागेको कार्यक्रमका आयोजक पाँचथर समाज यूकेले जनाएको छ ।
अन्तरकृयाको बिषय “नेपालको वर्तमान राजनीतिमा प्रवासी नेपाली नागरिक–समाजको भूमिका” रहेको छ ।
शनीबार साँझ पश्चिम लण्डनको गोल्डेन सिप रेस्टुराँमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि संग्रौलाका साथ गायक ब्रबिम शेर्मा पनि कार्यक्रमका अर्का आकर्षण हुने भएका छन् । संग्रौला र शेर्मा दुबै पाँचथरे मुलका हुन् ।
पूर्वेली लोक भाका र लिम्बु गायनमा ख्याति कमाएका शेर्माले बाह्र वटा एलबम्हरु निकालीसकेका छन् । गायक शेर्मा किराँत याक्थुङ चुम्लुङ यूकेको निमन्त्रणामा गत महिना बेलायत आएका हुन् ।
यति गहन बिषयको अन्तरकृया किन पाँचथर समाज यूकेले नै राख्नुपर्ने भन्ने जिज्ञासाको जवाफमा समाजका अध्यक्ष चन्द्र सुन्दासले भने, “संग्रौलाज्यू पाँचथरे हुनुभएको नाताले शुरुमा त हामीले उहाँसंग सामान्य भेटघाट मात्रै गर्ने हाम्रो योजना थियो । तर उहाँको बेलायत बसाई ज्यादै छोटो रहेछ । यस्तो अवस्थामा अन्य संघसंस्थाहरुले कार्यक्रम गर्न समय मिलाउन कठिन हुने देखिएकोले हामीले नै यो अन्तरकृया आयोजना गरेका हौं ।”
अध्यक्ष सुन्दासले संग्रौला र शेर्मालाई माया गर्ने बेलायतवासी सबैलाई उक्त कार्यक्रममा उपस्थित भइदिन अनुरोध गरेका छन् । संग्रौला अगस्ट १८ मा नेपाल फर्किनुहुने योजना छ ।