२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

ब्रिटिश गोर्खा: महिलाहरूलाई पनि भर्ती गर्ने घोषणा

2102 Shares
Spread the love

ब्रिटिश सेनाले गोर्खा ब्रिगेडमा सन् २०२० सम्ममा महिलाहरूलाई पनि भर्ती गर्ने घोषणा गरेको छ।

नेपालीहरू दुई सय वर्षभन्दा अघिदेखि ब्रिटिश गोर्खा फौजमा सहभागी हुँदै आएका छन्। यो अवधिमा महिलाहरूलाई पनि लडाकु सैन्यका रूपमा भर्ती गर्न लागिएको यो पहिलो अवसर भएको बताइन्छ।

भर्तीका लागि उनीहरूका निम्ति छुट्टै छनोट प्रक्रिया बनाइएको छैन।त्यसैले महिलाहरूले पनि पुरुषहरूले जस्तै नै कठिन शारीरिक परीक्षाहरूमा उत्तीर्ण हुनुपर्नेछ।

ब्रिटेनका रक्षामन्त्री ग्याभिन विलियम्सनले ‘महिलाहरूले सो सर्वोत्कृष्ट ब्रिगेडमा सेवा गर्ने अवसर पाउनु उचित भएको’ बताएका छन्।

ब्रिटिश सेनाका एकजना वरिष्ठ अधिकारी एवम् गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनन्ट जनरल निक पोप, सीबीईले यो निर्णयले ब्रिटिश सेनाको खुलापन र विविधता प्रतविम्बित गर्ने बताए।

“ब्रिगेड अफ गुर्खाज सन् २०२० सम्ममा महिला आवेदकहरूका लागि पनि खुल्ला हुनेछ,” उनले भने।

छनोट प्रक्रियामा सहभागी हुन आवेदकको तौल ५० केजी र उचाइ १५८ सेन्टिमिटर (पाँच फुट एक इन्च) बढी हुनुपर्छ।

उनीहरू आठ चोटि ‘अन्डर्आर्म हीभ’ गर्न सक्षम पनि हुनुपर्छ।

छनोटका लागि आवेदक महिलाहरूले २५ केजी बालुवा डोकोमा बोकेर पाँच किलोमिटर उकालो दौडिनुपर्नेछ।

भर्ना प्रक्रिया पोखरामा हुनेछ। छानिएका आवेदकहरूले ब्रिटेनको नर्थ योर्कशरस्थित क्याट्रिकमा १० हप्ता तालिम लिनेछन्।

सन् १८१५ मा नेपालमा आक्रमण गर्दा ठूलो क्षति बेहोरेपछि ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपालबीच एउटा सम्झौता भयो। त्यसअनुसार नेपालीहरू पनि ब्रिटिश फौजमा भर्ती हुन पाउने भए।

अहिले झन्डै तीन हजार गोर्खा सैनिक सेवामा छन्।युद्धभूमिमा जाँदा आधुनिक हतियारबाहेक अहिले पनि उनीहरू परम्परागत हतियार १८ इन्च लामो खुकुरी बोक्छन्।

बिबिसी

प्रतिक्रिया