हेटौंडा । प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्यहरुले संघीय सरकारले दर्ता गरिएको गुठी सम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन् । काठमाडौं उपत्यकालगायत अन्य प्रदेशमा धार्मिक दंगा भड्किन नदिन सरकारले उक्त विधेयकलाई फिर्ता लिनुपर्ने उनीहरुको माग थियो ।
प्रदेश नं ३ प्रदेशसभा बैठकको विषेश समयमा भाग लिने सदस्यले काठमाडौं उपत्यकामा परम्परागत रुपमा रहेको नेवार धर्म संस्कृति र सम्पदालाई मौजुदा सरकारले गुठी विधेयक ल्याएर ती सम्पदालाई कब्जा गर्ने नियत राख्दा धर्म संस्कृतिमाथि अतिक्रमण भएको आरोप लगाएका छन् ।
प्रदेशसभा सदस्यहरुले ऐतिहासिक र पौराणिक कालदेखि चलनचल्तीको रुपमा रहँदै आएका धर्म संस्कृतिलाई बन्देज गर्न नहुने सुझाव दिए । उनीहरुले सबै सर्वसाधारणले स्वतन्त्रतापूर्वक मान्दै आएका धर्म संस्कृति संरक्षण गर्नुपर्नेमा जोड दिए ।
सत्तापक्ष सदस्यले गुठी विधेयकले धर्म संस्कृति र सम्पदालाई सरकारले हस्तक्षेप नगरेको उल्लेख गर्दै गुठीको सम्पत्ति कुनै पनि व्यक्ति विशेषलाई उपलब्ध गराउने नियत नभएको उल्लेख गरे । यद्यपी जनभावना बुझेर सरकारले विधेयक परिमार्जन गर्नुपर्ने उनीहरुको सुझाव थियो ।
सार्वजनिक जग्गा, गुठी र राजगुठी जग्गाको अभिलेख तयार गरी सर्वसाधारण जनताकै हितमा प्रयोग हुनेगरी परम्परागत रुपमा रहँदै आएको धर्म संस्कृतिलाई प्रवद्र्धन गर्ने विधेयकको उद्देश्य रहेकोले सर्वसाधारणको भावनामा चोट पुर्याउन नहुनेमा उनीहरुको जोड छ ।
विशेष समयमा बोल्ने प्रदेशसभा सदस्य क्रमशः रामेश्वर फुँयाल, रामकाजी मर्हजन, शोभा शाक्य, विराजभक्त श्रेष्ठ, राजेश शाक्य, ओमबहादुर घलान, बसन्त मानन्धर, नरोत्तम वैद्य, पुकार मर्हजन, सरेस नेपाल, सन्तबहादुर प्रजा, रमेश पौडेल, र रीता माझी थिए ।
प्रदेशसभामा प्रदेश मामिला समितिका समापति माधवप्रसाद पौडेलले प्रदेश मामिला सम्बन्धी वार्षिक प्रतिवेदन, २०७५ र उद्योग पर्यटन वन वातावरण समितिका सभापति रमा आले मगरले उद्योग पर्यटन वन वातावरणसम्बन्धी छुट्टाछट्टै समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रदेशसभाको बैठक आगामी असार १ गते अपराह्न ५ बजे बस्नेछ ।