काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीको जीवनरक्षा माग गर्दै दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखेको भन्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ।
सभामुख कृष्ण बहादुर महराले प्रतिनिधिसभाको शुक्रबारको बैठकको कारवाही सुरु भएको जानकारी गराउन लाग्दा कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले आफुहरुले प्रतिनिधिसभा नियमावलि अनुसार संसद सचिवालयमा दर्ता गरेको डाक्टर गोविन्द केसीको जीवनरक्षा माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा राख्न माग गरे। उनले सो प्रस्ताव कार्यसूचीमा नराखिएसम्म बैठक चल्न नसक्ने बताए।
प्रतिनिधिसभा नियमावली ७१ को ३ अनुसार सम्बन्धीत मन्त्रीसंग परामर्श गरेर छलफलको दिन तोक्ने आश्वासन दिदै सदन संचालन गर्न दिन पटक पटक गरेको आग्रहलाई प्रतिपक्षी दलका सांसदहरुले अस्वीकार गरि उभिएका थिए।
डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि काम गरिरहेको र अहिले उनको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर भएकाले सो विषयको छलफललाई प्राथमिकता दिनुपर्ने माग गर्दै कांग्रेस सांसदहरुले उभिएर विरोध जनाईरहेपछि सभामुख महराले आधाघण्टाको लागि बैठक स्थगित गरे।