२०८३, ४ बैशाख शुक्रबार
×

ट्रेन्डिङ

बाढीपहिरो पीडितको तत्काल प्रबन्ध गर्न काँग्रेसको माग

2011 Shares
Spread the love

काठमाडौँ। नेपाली काँग्रेसले बाढीपहिरोबाट पीडित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेको छ।

काँग्रेसले मगलबार जारी गरेको विज्ञप्तिमा प्राकृतिक विपत्को यस घडीमा पीडित परिवारलाई तत्काल खाद्यान्न, लत्ता कपडा, भाँडाकुडा, औषधि र अस्थायी बसोवासको यथाशीघ्र उचित प्रबन्ध गर्न आग्रह गरेको हो।

काँग्रेसले बाढी र पहिरोमा परी जीवन गुमाएका सम्पूर्ण नागरिकमा श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। सो घटनामा घाइते हुनेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
बाढी, पहिरो र डुबानका कारण क्षति भएका सडक, विद्यालय, पुलपुलेसालगायतका भौतिक पूर्वाधारको यथाशीघ्र पुनःनिर्माणका लागि समेत उक्त दलले सरकारको ध्यानाकर्षण गराएको छ।

केही दिनदेखिको परेको अबिरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न जिल्लामा धनजनको ठूलो क्षति हुनाका साथै जनजीवन अस्तव्यस्त भएको छ।

बाढी पहिरोबाट कैलाली, बाँके, सिन्धुली, रोल्पा, चितवन, पर्सा, महोत्तरी, सुनसरी लगायतका जिल्लामा डेढदर्जन भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको तथा ठूलो संख्यामा मानिस बेपत्ता र विस्थापित हुनका साथै कैयौं व्यक्ति घाइते भएका छन्।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा हजाराैँ हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको, पहिरो र डुबानका कारण सडक यातायात अवरुद्ध भएको घटनाप्रति दुःख व्यक्त गरिएको छ।

विज्ञप्तिमा बाढी र पहिरो प्रभावित सम्बन्धित जिल्लाका काँग्रेस पदाधिकारी भ्रातृ संगठन एवं शुभेच्छुक संस्थाका नेता तथा कार्यकर्तालाई परिचालन गरी उद्धार, राहत र उचित बसोवासको व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ।

पहिरो एवं डुबानमा पर्नसक्ने थप जोखिम क्षेत्रको पहिचान गरी त्यस क्षेत्रबाट अन्य सुरक्षित स्थानमा मानिसलाई स्थानान्तरण गराउने कार्यमा जुट्न समेत कार्यकर्तालाई विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया