२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

न्युयोर्कमा सगरमाथा यसरी टल्कियो

1113 Shares
Spread the love

न्युयोर्क– न्युयोर्कमा लगभग विश्वका सबै क्षेत्रका मानिस अटाएका छन् । न्युयोर्कको क्वीन्सस्थित ज्याक्सन हाईट्स जहाँ नेपालीको बसोबास उल्लेख्य छ । ज्याक्सन हाईट्समा पुग्ने जो कोही नेपालीलाई युरोप – अमेरिका पुगेजस्तो भान पर्दैन । किनकी यो क्षेत्र दक्षिण एसीयाकै कुनै स्थान जस्तो लाग्न सक्छ । यहाँ नेपालीमात्र होइन भारतीय, बंगलादेशी, पाकिस्तान, भुटानी तथा तिब्तियनहरु पाइलै पिच्छे भेटिने भएकाले यो क्षेत्रका चोक तथा गल्लीहरुले दक्षिण एशियाकै कुनै एक शहरको अनुभुुति गराउँछन ।

माउन्ट एभरेष्ट वे र नेपालीको शान ज्याक्सन हाईट्सको रुजवेल्ट एभिन्युको ७५ स्ट्रीटबाट उत्तर तर्फ करिब १५ मिनेटको पैदल दुरी पार गरेपछि ३१ एभिन्युको सडक, जहाँपुगेपछि जो कोहि नेपालीको शिर गर्वले उचो हुन्छ । नहोसपनि किन ? जहाँ सगरमाथा नामको सडक जो छ । जहाँ सगरमाथा हुन्छ त्यहाँ हाम्रो पहिचान र मौलिकतापनि जोडिन्छ अनि नेपालीको शान पनि झल्किन्छ ।

त्यसमाथी विश्वको अति वैभवशाली मुलुक अमेरिकामा विश्वकै शिखर अर्थात नेपालीको पहिचान सगरमाथाको नामबाट बाटोको नामाकरण गरिएको छ । संसारका अधिकांश मानिसले सगरमाथा जानेका छन । अनि सगरमाथाको महिमा नगाउने सायदै होलान । त्यहि सगरमाथाको नामबाट न्युयोर्कको कुनै सडकको नाम राखिंदा खुशीले फुरुङ्ग नहुनेपनि को होला र ? त्यहि सगरमाथाको नाम विश्वको विपरित गोलार्धमा भेटिंनु न्युयोर्कमा रहेका नेपाली समुदायको लागि निकै ठुलो उपलब्धि हो ।

मध्यान्ह १२ बजे शुरु भएर झण्डै साँझ पाँच बजेसम्म चलेको कार्यक्रम केहि लामो अवस्य भएको थियो । तर न्युयोर्कमा रहेका विभिन्न नेपाली संघ संगठनका प्रतिनिधि सहित नेपाली समुदायको उल्लेख्य उपस्थिती रहेको माउन्ट एभरेष्ट वे नामाकरण कार्यक्रम स्थल वास्तवमा नेपालको कुनै स्थान झैं लाग्थ्यो । माउन्ट एभरेष्ट वे घोषणा कार्यक्रमका लागि अहोरात्र खटिने न्युयोर्कका नेपाली बाणिज्यदुत कृशु क्षेत्री र एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी लागायतका व्यक्तिहरुले यो सानो उपलब्धि नभएको र यसमा न्युयोर्कमा रहेका सबै नेपाली संघ संस्थाहरुको उत्तिकै योगदान रहेको बताए ।

कुनै सडकलाई सगरमाथाको नाम राख्नु सामान्य लाग्ला, संसारकै शक्तिशाली मुलुकमा नेपालीको पहिचान जोडिनु कम्ती उपलब्धि होइन । तर यो उपलब्धि त्यसै हासिल भएको भने होइन, यसमा अहोरात्र खटिएका छन् नेपाली समुदाय । यहि खटाइ र अनुरोधका कारण कारण सिटी काउन्सिल अफ न्युयोर्कले सन २०१८ डिसेम्बर १९ का दिन सो स्थानलाई माउन्ट एभरेष्ट वे नामाकरण गर्ने औपचारिक निर्णय गरेको थियो ।

तामाङ सेलो होस वा मारुनी तथा कुमारी नाच र नेपालका विभिन्न जात, जाती तथा समुदायहरुले आफ्नो मौलिक पहिचान दिने सांस्कृतिक नाचगानले वास्तवमा कार्यक्रम निकै रोमाञ्चक बनाएको थियो । कार्यक्रम स्थलमा नेपाली पहिचानसँग जोडिएका खानाका विभिन्न परिकारहरुपनि राखिएको थियो । सांस्कृतिक कार्यक्रमको शुरुमै नेपाली राष्ट्रगान बज्दा नेपालीहरुमा राष्ट्रिय भावना जाग्रित भएको थियो ।

चन्द्र सुर्य अंकित नेपाली राष्ट्रिय झण्डा अमेरिकाको सडकमा फहराइरहँदा, नेपाली पहिचान झल्कने विभिन्न झाँकी तथा नेपालका विभिन्न जातजातीले प्रयोग गर्ने बाजा गाजा सहितको प्रस्तुतीले आफ्नो जन्मथलोबाट निकै टाढा रहेका नेपालीलाई साँच्चै भावुक बनाउने खालको थियो । माउन्ट एभरेष्ट वे घोषणा कार्यक्रमको औपचारिक समापन सँगै शुरु भएको नेपाली सांस्कृतिक प्रस्तुतिले नेपालका विभिन्न स्थानमा हुने महोत्सवमा हुने सांस्कृतिक कार्यक्रमको याद दिलाउथ्यो ।

 

प्रतिक्रिया