काठमाडौं । रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बुधबार ४ खेलहरू हुँदैछन् ।
समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत बुधबार हुने पहिलो खेलमा समूह ‘एफ’ मा रहेका जर्मनी र दक्षिण कोरियाले नेपाली समयअनुसार ७ः४५ बाट सुरु हुनेछ । यो समूहमा मेक्सिको ६ अंकका साथ शीर्ष स्थानमा छ भने जर्मनी र स्विडेनको समान ३–३ अंक छ । कोरियाको भने अघिल्लो चरणको सम्भावना न्यून छ । यही समूहमा रहेको साविक विजेता जर्मनीलाई अघिल्लो चरणमा प्रवेश गर्न जितेर मात्र पुग्दैन अरु खेलमा पनि निर्भर हुनुपर्नेछ ।
बुधबारै हुने दोस्रो खेलमा बेलुका ७ः४५ मा समुह एफकै मेक्सिको र स्विडेन भिड्नेछन् । यो खेलमा मेक्सिको विजयी भए वा बराबरीमा रोकिएपनि समूह विजेता बन्नेछ । तर पराजित भए अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ ।
त्यस्तै अर्को खेलमा राती ११ः४५ मा समूह ‘इ’ का स्विट्जरल्याण्ड र कोस्टारिका आमने सामने हुनेछन् । कोस्टारिका प्रतियोगिताबाट बाहिरिसकेको छ भने अघिल्लो चरणमा प्रवेश गर्न स्विट्जरल्याण्डलाई यो खेल जित्नैपर्ने दबाब छ ।
यो समूहमा ब्राजिल र स्विट्जरल्याण्डको ४–४ अंक भएपनि गोलअन्तरका आधारमा ब्राजिल अगाडि छ । स्विट्जरल्याण्ड पहिलो खेलमा ब्राजिलसँग १–१ को बराबरीमा रोकिदा दोस्रो खेलमा सर्बियालाई २–१ ले पराजित गरेको थियो । कोस्टारिका भने पहिलो खेलमा सर्बियासँग १–० र दोस्रो खेलमा ब्राजिलसँग २–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । यता ११ः४५ मै हुने आजको अर्को खेलमा ब्राजिल र सर्बिया खेल्दैछन्। अन्तिम १६ मा प्रवेश गर्न दुवै टोलीलाई जित आवश्यक छ ।