काठमाडौं । अन्तत : जटिल अवस्थालाई चिर्दै अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । जित्नै पर्ने खेलमा नाइजेरियाविरुद्ध २–१ को जित निकाल्दै अर्जेन्टिनाले विश्वकपको प्रि–क्वाटर फाइनल राउण्डमा स्थान बनाएको हो ।
अर्जेन्टिनाको जितमा कप्तान मेस्सी र मार्कोस रोजोले गोल गरे । खेलमा विशेष अवस्था थिए । अर्जेन्टिनाले नाइजेरियालाई पराजित गर्नैपर्ने, अर्को खेलमा आइसल्याण्ड क्रोएसियासँग पराजित हुनै पर्ने ।
ठिक त्यसै भएपछि अर्जेन्टिना विश्वकपमा भाग्यशाली सावित भयो । क्रोएसियाले पनि आइसल्याण्डलाई २–१ लेनै पराजितगर्दै घर फर्कन बाध्य बनायो । जितसँगै क्रोएशिया ९ अंक सहित लिगको विजेता बन्दै अर्को चरणमा प्रवेश गर्योभने अर्जेन्टिना ४ अंक सहित उपविजेता बन्यो ।
समुह डीमा इरान तिन अंक सहित तेस्रो तथा आइसल्याण्ड १ अंक सहित पुछारमा रह्यो । यसअघि क्रोएसियासँग ३–० ले पराजित भएको अर्जेन्टिनी टोली नाइजेरिया र आइसल्याण्डकै खेलबाट घर फर्कनुपर्ने अवस्थामा थियो ।
तर नाइजेरियाले आइसल्याण्डलाई पराजत गरेपछि भने अर्जेन्टिनी टोलीको आजको खेल निर्णायक बन्यो । यदि त्यसबेला नाइजेरिया आइसल्याण्डसँग पराजित भएको भए आजको अर्जेन्टिनी खेलमात्र प्रतिष्ठाका लागि हुने थियो ।
अन्तिम मौकाको भरपुर प्रयोग
अर्जेन्टिनाले आफ्नो निर्णायक तथा अन्तिम खेलमा पाएको अवसरलाई भरपुर प्रयोगगर्दै खेलमा जित निकाल्न सफल बन्यो । खेल सुरु भएको १४ औं मिनेटमा लियोनल मेस्सीको गोलबाट अर्जेन्टिनाले सुरुवाती गोलको अग्रता लिएको थियो ।
मेस्सीले इभर बेनेगाको पासमा आकर्षक गोल गरेका थिए । यस गोलसँगै मेस्सीले रुस विश्वकपमा गोलको खडेरी तोड्दै आफ्नो पहिलो गोल गर्न सफल बने । उनले पुरा विश्वकपमा ६ गोल पुर्याएका छन् ।
पहिलो हाफको अर्जेन्टिनी अग्रता खेलको ५१ औं मिनेटमा नाइजेरियाले तोडिदियो । भिक्टर मोसेसको पेनाल्टि गोलबाट नाइजेरिया अर्जेन्टिनाविरुद्धको खेलमा फर्किएको थियो ।
अर्जेन्टिनाका माश्चेरानोले फल गरेपछि खेलमा पेनाल्टि दिइएको थियो । मासेसले त्यस अवसरलाई सहज गोलमा परिणत गरिदिए । तर प्रतिस्पर्धात्मक खेल सकिन मात्र ४ मिनेटबाँकी रहँदा अर्जेन्टिनाले खेलमा दोस्रो गोल गर्न सफल बन्यो ।
मार्कोस रोजोले ग्याब्रियल मर्काडोको क्रस पासमा आकर्षक गोल गरेपछि अर्जेन्टिनी जित सनिश्चित भएको हो । खेलमा निर्धारित समय सकिएपछि ४ मिनेट अतिरिक्त समय थपिएको थियो । तर नाइजेरिया खेलमा फर्कन नसकेपछि अन्ततः नाइजेरियाको विश्वकप सपना अधुरो बन्यो ।
गोल रक्षक परिवर्तन
गोल रक्षक परिवर्तन भएको खेलले अर्जेन्टिनाको सार्थकता समेत दर्शायो । फ्रान्को अर्मानीको यस खेलनै अर्जेन्टिनाका तर्फबाट अन्तर्राष्ट्रिय डेब्यु खेल थियो ।
तर उनले आकर्षक बचाउ गर्न सफल भएपछि पनि अर्जेन्टिनालाई खेलमा निकै राहात मिलेको थियो । यसअघि क्रोएसियाविरद्धको खेलमा ३ गोल खाएका गोलरक्षक विली क्याबालेरो कमजोर भएका कारण परिवर्तन गर्नुपर्ने आवाज उठेपछि उनको स्थानमा अर्मानीलाई प्रतिस्थापन गरिएको हो ।
नकआउट चरणमा फ्रान्ससँग भिड्ने
समुह डीमा ४ अंक सहित उपविजेता बनेको अर्जेन्टिनाले प्रि–क्वाटर फाइनल चरणमा बलियो प्रतिस्पर्धाी पाएको छ । अर्जेन्टिनाले समुह सीको विजेता फ्रान्ससँग भिड्नेछ । यसैगरी विजेता टोली क्रोएसियाले भने डेनकार्कसँग खेल्नेछ ।