२०८२, ११ बैशाख बिहीबार
×

ट्रेन्डिङ

कोरियाली संस्थाद्वारा १४ वटा सामुदायिक विद्यालय हस्तान्तरण

2994 Shares

काठमाडौँ । दक्षिण कोरियाको ‘अम होङ गिल ह्युमन फाउन्डेसन’ नामक संस्थाले नेपालमा ११ जिल्लाका १४ सामुदायिक विद्यालयको भवन निर्माण गरी हस्तान्तरण गरेको छ।

सामुदायिक विद्यालय भवन निर्माण भएका जिल्लाहरुमा धादिङ, रुपन्देही, रोल्पा, कास्की, धनुषा, म्याग्दी, सोलुखुम्बु, संखुवासभा, बर्दिया, ताप्लेजुङ र गोरखा रहेका छन्।

ती जिल्लामा संस्थाले १४ वटा सामुदायिक विद्यालय भवन निर्माण गरी हस्तान्तरण गरिसकेको छ। ती विद्यालयको भौतिक संरचना निर्माणका क्रममा हालसम्म रु ३० करोड लगानी गरिसकेको सो संस्थाले जनाएको छ।

फाउन्डेसनले हाल काभ्रेको पाँचखालस्थित आजद माविको भवन निर्माण गरिरहेको छ भने काठमाडौँको दुई सामुदायिक विद्यालयको भवन बनाउने तयारी गरेको छ।

मंगलबार संस्थाको नेपालका लागि सहायक प्रमुख सञ्जीव हुमागाईंले यहाँ आयोजित पत्रकार सम्मेलनमा संस्थाले हालसम्म शिक्षक र विद्यार्थी गरी १३ जनालाई दक्षिण कोरियाको शैक्षिक अवलोकन भ्रमण गराइसकेको जानकारी दिए।

उक्त संस्थाले रोल्पाको सीमपानी स्थित जनकल्याण माविका शिक्षक र विद्यार्थीलाई यही असार १ देखि १० गतेसम्म दक्षिण कोरियाको शैक्षिक भ्रमण गराएको जानकारी दिइयो।

संस्थाका देशीय निर्देशक इवीजे नीले नेपालको शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तका लागि आफूहरुको प्रयास केन्द्रीत रहेको बताए।

दक्षिण कोरियाको शैक्षिक भ्रमणमा सहभागी भएर आएका रोल्पा जनकल्याण माध्यामिक विद्यालयका प्रधानाध्यापक खिमलाल खत्रीले नेपालको शिक्षा क्षेत्र सुधारका लागि स्थानीय तह र शिक्षक बढी जिम्मेवार हुनुपर्ने दश दिने भ्रमणले अवगत गराएको अनुभव सुनाए।

सोही विद्यालयको कक्षा पाँचमा अध्ययनरत छात्र युवराज डाँगी, कक्षा ८ मा अध्ययनरत छात्रा हरिसरा घर्तीमगर र कक्षा १० मा अध्ययनरत छात्रा अनिता घर्ती मगरले कोरिया भ्रमणको अनुभव सुनाउँदै कोरियाका विद्यालय जस्तो सरसफाइ र व्यवस्थित पुस्तकालय निर्माण गर्नुपर्नेमा जोड दिए।

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले कोरियाली पर्वतारोही अम होङ गिलले सो स्थापना गरेको जनाएको छ।

प्रतिक्रिया