२०८१, ७ चैत्र शुक्रबार
×

ट्रेन्डिङ

रोनाल्डोले गोल गर्न नसकेको पेनाल्टीले बनायो विश्वरेकर्ड, इजिप्टका किपरले बनाए थप दुई रेकर्ड

1861 Shares

एजेन्सी। विश्वकप फुटबलमा समूह ‘बी’को समूह चरणको अन्तिम खेलमा पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा पनि गोल गर्न सकेनन् । यद्यपि उनले गोल गर्न नसकेको यो पेनाल्टीले नयाँ विश्वरेकर्ड कायम गरेको छ । यो पेनाल्टीसँगै रुस विश्वकपले एउटा विश्वकपमा सर्वाधिक पेनाल्टी सुटआउट भएको विश्वकपको रेकर्ड बनाएको छ ।

अहिलेसम्म एउटा विश्वकपमा सर्वाधिक पेनाल्टी (टाइब्रेकर नभइ खेलको बीचमा दिइएको) २००२ विश्वकपमा दिइएको थियो । जापान र दक्षिण कोरियामा भएको यो विश्वकपमा इतिहासकै सबैभन्दा बढी १८ पेनाल्टी दिइएको थियो । तर, यसपटकको विश्वकपमा यो रेकर्ड समूह चरणका खेल नसकिँदै तोडिएको छ । यो विश्वकपमा इरानविरुद्ध रोनाल्डोले गोल गर्न नसकेको पेनाल्टी १९ औं पेनाल्टी थियो ।

हिजो त्यसअघि भएको साउदी अरेबिया र इजिप्टबीचको खेलमा इजिप्टका गोलकिपर एसाम अल हैदरीले दुई छुट्टाछुट्टै रेकर्ड बनाएका छन् । हिजोको खेलमा मैदानमा उत्रिएसँगै हैदरीले विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडीको रुपमा आफ्नो नाम इतिहासमा लेखाएका छन् । उनी ४५ वर्षका छन् । यससँगै हैदरी हिजोकै खेलमा पेनाल्टी रोक्ने सबैभन्दा बढी उमेरका गोलकिपर समेत बने । उनले साउदी अरेबियाले पाएको पेनाल्टीमा फहाद अल मुहाल्लादले हानेको प्रहार बचाउँदै यो रेकर्ड बनाएका हुन् ।

यो विश्वकपमा अहिलेसम्म दिइएका १९ पेनाल्टीमध्ये १४ पेनाल्टी गोलमा परिणत भएका छन् भने ५ पेनाल्टी किपरले बचाएको वा पोस्टबाहिर गएका छन् । गोल हुन नसकेका ५ प्रहारमध्ये दुई प्रहार अहिलेको समयमा फुटबल जगतकै महान खेलाडीहरु लियोनेल मेस्सी र क्रिष्टियानो रोनाल्डोले गरेका थिए । १९ पेनाल्टीमध्ये ८ पेनाल्टीको निर्णय भिएआर प्रविधिमार्फत गरिएको थियो । यो प्रविधि विश्वकपमा पहिलोपटक प्रयोग गरिएको छ ।

प्रतिक्रिया