२०८०, १९ मंसिर मंगलवार
×

ट्रेन्डिङ

मिटरब्याजका नाइके सिंहको ६ थान हतियार खोसियो

1480 Shares

काठमाडौं । महानगरीय अपराध महाशाखाले मिटरब्याजका नाइके भनेर चिनिने महेशबहादुर सिंहको साथमा रहेका ६ थान हतियार नियन्त्रणमा लिएको छ । सिंहले लाइसेन्स लिएर सुरक्षा प्रयोजनको लागि भन्दै हतियार राखे पनि उक्त हतियारले समाजमा त्रास उत्पन्न गराउन र अवैध काममा प्रयोग हुन थालेको सूचना आएपछी ईजाजत पत्र रद्ध गरेर हतियार बरामद गरिएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

मकवानपुरको हेटौंडा स्थायी घर भएका सिंह सिंहको साथबाट बाह्र बोर सटगन ४ थान, बाईस बोर राईफल, एकथान १२ बोर सटगन र १३६ राउण्ड गोली बरामद गरिएको महाशाखाले जनाएको छ ।

सिंहले सोही हतियार देखाएर ठेक्का कब्जा गर्ने, अनावश्यक रुपमा गाडीमा हतियार राखेर त्रास उत्पन्न गराउने, चर्को ब्याजमा पैसा लगानी गर्ने र उक्त रकम उठाउन हतियार प्रदर्शन गर्ने गरेको पाइएपछि प्रहरीले हतियार बरामद गरेको जनाएको छ ।

लाइसेन्स लिएर राखेको हतियार दुरुपयोग गरेको खुलेपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त हतियारको लाईसेन्स रद्द गरेको थियो । प्रहरी हाकिमहरुको रकम नै मिटरब्याजमा लगानी गर्ने सिंह यसअघि प्रहरीकै संंरक्षणका कारण बच्दै आएका थिए । यस अघि पनि उनीमाथि ठगी, अपहरण तथा शरीर बन्धक र बन्यजन्तु सम्बन्धी मुद्दा परेपनि पैसा र पहुँचका कारण उनी बच्दै आएका छन् । तर, अहिले महाशाखामा धिरजप्रताप सिंह प्रमुख भएर आएसँगै इजाजतप्राप्त हतियार देखाएर गैरकानुनी कार्य गर्नेहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाएका हुन् । महाशाखाले यस अघि म्यानपावर व्यबसायी रघु पुरी, मिटरब्याजका अर्का नाइके वीरेन्द्रलाल श्रेष्ठ, गुण्डा नाइके काजी शेर्पा र बलराम सापकोटाबाट हतियार बरामद गरेको थियो ।

प्रतिक्रिया