काठमाडौं । नेपालमा भारत र चिनियाँ रेलको व्यापक चर्चा चलिरहेका बेला अर्को मुलुक युएइले समेत नेपालमा रेल निर्माणमा लगानी गर्ने प्रस्ताव गरेको छ । नेपाल संयुक्त अरब इमिरेट्स (युएइ)बीच व्यवसायीको लगानी सम्भाव्यता अध्ययनका सम्बन्धमा काठमाडौंमा सोमबार देखि सुरु भएको दुबै मुलुकको बैठकमा युएईले नेपालमा रेल निर्माणमा लगानी गर्ने प्रस्ताव गरेको हो ।
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्राष्ट्रिय समन्वय शाखा प्रमुख तर्कराज भट्टले दुबै मुलुकका बीचमा व्यासायिक लगानीको बारेमा छलफल गर्न सोमबार सुरु भएको बैठकमा युएइले यस्तो प्रस्ताव गरेको जानकारी दिए । ‘सोमबार सुरु भएको बैठकको पहिलो सेसनमा हामी दुबै मुलुकका प्रतिनिधिहरुबीच व्यवसायिक लगानीका सम्बन्धमा छलफल भयो’ उनले भने, ‘त्यसक्रममा युएइका प्रतिनिधिहरुले नेपालमा रेल निर्माणमा लगानी गर्ने चासो व्यक्त गरेका हुन्, ।’
बैठकमा सहभागी युएइका प्रतिनिधिहरुले रेल तथा अन्य व्यवसायिक क्षेत्रमा समेत लगानी गर्नका लागि युएइसँग लगानीकर्ता रहेकाले लगानी गर्न प्रस्ताव गरेको भट्टले बताए ।‘बैठकमा युएइका प्रतिनिधिहरुले आफ्ना विभिन्न जिज्ञासा रोखेका थिए । त्यसक्रममा हामीले हाम्रा नीति नियमहरुको बारेमा जानकारी गरायौं’ भट्टले थपे ।
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका अनुसार नेपालमा रेल लगायतका अन्य कृषि, पर्यटन उद्योग र विभिन्न पुर्वाधार निर्माण लगायतका व्यवसायिक क्षेत्रमा समेत लगानी गर्न युएइले प्रस्ताव गरेको छ । युएइका अधिकारीहरुले नेपालमा लगानी गर्ने राम्रो वातावरण रहेको महसुस गरेकाले युएइ नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा लगानी गर्न इच्छुक देखिएको नेपाली अधिकारीहरुले बताएका छन् ।
युएइले विभिन्न व्यवसायिक क्षेत्रमा लगानी गर्न प्रस्ताव गरेपनि लगानी गर्ने विषयमा भविष्मा आवश्यक अध्ययन गर्ने गरी बैठक सोमबार नै समाप्त भएको बैठकमा सहभागीहरुको भनाई छ । बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपुर्ति सचिव चन्द्रकुमार घिमिरेको नेतृत्वमा नेपाली प्रतिनिधिकहरु सहभागी रहेका थिए । त्यस्तै युएइका तर्फबाट अब्दुल्लाह अह्मेद अल सालेन नेतृत्वको टोली सहभागी रहेको थियो ।