२०८३, ४ आश्विन आईतवार
×

ट्रेन्डिङ

अष्ट्रेलियालीमा वन विरालोको आतंक, दैनिक दश लाख सरीसृप मारिए – अध्ययन

1958 Shares
Spread the love

सिड्नी, अष्ट्रेलिया । जङ्गली कुकुर अष्ट्रेलियामा प्रतिदिन दशलाख सरीसृप मारिने गरेका सोमबार सार्वजनिक एक नयाँ अध्ययनले जनाएको छ । यसबाट कैयौँ दुर्लभ सरीसृपका प्रजातीहरूको लोप हुने खतरा निम्तिएको अध्ययनमा छ ।

अष्ट्रेलियामा यूरोपेली मुलुकबाट आएर बस्ती बसाउने क्रमको थालनीसँगै करिब दुई शताब्दीको समयमा जङ्गली बिरालोका कारण कतिपय दुर्लभ प्रजातिको लोप नै भएको बताउने गरिन्छ ।  यद्यपि पछिल्लो समयमा जङ्गली बिरालोको जनसङ्ख्या नियन्त्रणका लागि गरिएका विभिन्न उपायले केही दशक यता भने उक्त विकराल स्थितिमा केही सुधार देखिएको छ ।

सरीसृप प्रजातिको नासको कारक मानिने १० हजार जङ्गली बिरालाहरूमा स्थानीय वातावरण वैज्ञानिकले गरेका अध्ययन प्रतिवेदनले सरीसृप प्रजातीका कैयौँ दुर्लभ प्राणी बिरालोको शिकारका कारण लोप हुने अवस्थामा पुगेको जनाएका छन् ।  अध्ययन प्रतिवेदनमा जङ्गली बिरालोका कारण वार्षिक जम्मा ६५ करोड छेपारा तथा सर्पहरूको नास हुने गरेको जनाइएको छ ।

“प्रत्येक जङ्गली बिरालोले औसतमा प्रतिवर्ष २२५ सरीसृपको शिकार गर्ने गरेका छन्,” चाल्र्स डार्विन विश्वविद्यालयका अनुसन्धान समूह तथा अध्ययन समूहका प्रमुख अनुसन्धाता जोन वोइनास्र्कीले भने। अष्ट्रेलियामा बन बिरालो संयुक्त राज्य अमेरिका वा यूरोपमाभन्दा बढी सरीसृपको विनासको कारक बन्ने गरेको पनि अध्ययनका क्रममा थाहा भएको उनले बताए ।

उनले भने, “केही जङगली बिरालो त सरीसृपको ठूलो सङ्ख्यालाई शिकार गर्दछन् । अध्ययनका क्रममा हामीले केही बिरालोको एकै दिनमा झण्डै ४० वटासम्म छेपारा प्रजातिका सरीसृपलाई आफ्नो आहारा बनाएको पायौँ ।”  ‘वाइल्डलाइफ रिसर्च जोर्नल’मा प्रकाशित प्रतिवेदन अनुसार अष्ट्रेलियामा बिरालोले २५० विभिन्न प्रजातिका सरीसृपलाई आफ्नो आहारा बनाउने गर्छन् । जसमध्ये मरुभूमिमा पाइने सर्प आकारको ठूलो छेपाराहरू दाडीवाल ड्रेगन, तथा घरआँगन वरिपरी पाइने छेपारोजस्ता सरीसृपलाई मार्ने गरेको बताइएको छ । यसमध्ये ११ विभिन्न दुर्लभ प्रजातिका लोपोन्मुख छेपारा रहेका छन् ।

अष्ट्रेलियामा जङ्गली बिरालाको सङ्ख्या दशौँ लाखको सङ्ख्यामा रहेको छ र यिनीहरू यहाँका स्तनधारी जनावरको लोपका लागि पनि दोषी मानिन्छन् । सोही समूहले गत वर्ष गरेको अनुसन्धानमा जङ्गली बिरालोले प्रतिदिन दश लाख पंक्षीको शिकार गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

अष्ट्रेलियाको सरकारले जङ्गली बिरालोको बिगबिगीलाई कमी गर्न विभिन्न योजनामार्फत वार्षिक दुई करोड ३० लाख अमेरिकी डलर खर्चिँदै आएको छ ।

अष्ट्रेलियाली वन्यजन्तु संरक्षण कार्यक्रमले गत महिना नौ हजार ४०० हेक्टर मरुभूमि क्षेत्रलाई जङ्गली बिरालोबाट स्वतन्त्र बनाउन ४४ किलोमिटर लामो विद्युतीय वार निर्माण गरेको थियो । सरकारले उक्त अभियान अन्तर्गत करिब एक लाख हेक्टर मरुभूमि क्षेत्रको जमिन, जहाँ बिरालोको बिगबिगी छ, लाई विद्युतीय तारबार गर्ने योजना छ । एएफपी

प्रतिक्रिया