२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ओलीको चीन भ्रमणबाट ऐतिहासिक उपलब्धी : सञ्चारमन्त्री बाँस्कोटा

2026 Shares

भक्तपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट ऐतिहासिक उपलब्धी हाँसिल भएको बताएका छन्।

आज सूर्यविनायक नगरपालिकाको तेस्रो नगरसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको जारी चीन भ्रमण निकै सफल र उपलब्धिमूलक भएको बताए।

सरकारले लिएको संकल्प पूरा गर्न सरकार लागिपरेको बताउँदै मन्त्री बाँस्कोटाले भने, “विश्वमा कुनैपनि देश अर्को देशले आएर बनाइदिँदैन, आफ्नो देश आफैँले बनाउने हो, हाम्रो देश बनाउने संकल्प सरकारले लिएको छ, सरकारले देश बनाउने संकल्प पाँच वर्षभित्र पूरा गर्छ।”

जनप्रतिनिधि आफैँप्रति आफू इमान्दार भएमात्रै सरकारको संकल्प पूरा हुने बताउँदै उनले तीनवटा सरकार भएपनि आफ्नो कार्यक्षेत्रको काम आफैँले गर्नुपर्ने उनको भनाइ थियो।

निर्वाचनमा गरिएको घोषणापत्र पाँचवर्षभित्र जनताले पल्टाई पल्टाई खोज्दा आफूले मुख फर्काउनु पर्ने अवस्था आउन नहुनेमा उनले जोड दिए।

मन्त्री बाँस्कोटाले काम गर्नै नसक्ने गरी धेरै योजना पेश गर्ने, काम नगर्ने तर धेरै भाषण गर्ने र सदाचारको कुरा गर्ने, तर भित्रभित्र बेइमान र राज्यको ढुकुटी लुट्ने कार्य नगर्न जनप्रतिनिधिलाई निर्देशन दिए।

नगरसभामा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आगामी आव २०७५÷०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पाँच वर्षभित्र नगरलाई समुन्नत नगर बनाउने प्रतिबद्धता व्यक्त गरे।

थापाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायत विकासका पूर्वाधार निर्माणमा एकवर्षमा धेरै प्रगति भएको उल्लेख गरे।

कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले आगामी पाँच वर्षभित्र भक्तपुरले विकासमा फड्को मार्ने बताएका छन्।

उनले भनेका छन्, “सूर्यविनायक धुलिखेल छलेन सडक निर्माण, कोटेश्वर जडीबुटी र साँगामा सुरुङ मार्ग निर्माण, भक्तपुरमा ५० हजार क्षमताको रंगशाला र कभर्ड हल निर्माण तथा स्मार्ट सिटीसहितको आधुनिक शहर निर्माण हुन्छ, भक्तपुर समुन्नत बन्छ।”

प्रदेशसभा सदस्य शशिजंग थापा, जिल्ला समन्वय समिति, भक्तपुरका प्रमुख नवराज गेलाल, नेकपाका नेताद्वय बचन देउजा र डिपी ढकाल, नेपाली काँग्रेसका नेता निसान ढुंगेललगायतले भक्तपुरको विकासमा एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया