२०८३, १२ भाद्र शुक्रबार
×

ट्रेन्डिङ

नेपाल बाढीमा मृतक संख्या ४६९ पुग्यो, ३३ बेलायती नागरिक अझै बेपत्ता

0 Shares
Spread the love

लण्डन । नेपाल–तिब्बत सीमामा आएको विनाशकारी बाढीको दुई दिनपछि पनि सयौं बेपत्ताको खोजी कार्य जारी छ। बाढीमा ३३ बेलायती नागरिकसहित १ हजार ५०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेको बताइएको छ।

नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीबाट मृत्यु हुनेको संख्या ४६९ पुगेको छ। अघिल्लो दिनसम्म मृतकको संख्या ३९० थियो। यता, तिब्बततर्फ भने चीनले तीन जनाको मृत्यु भएको यसअघिको विवरणमा नयाँ अद्यावधिक गरेको छैन।

बाढीपछि बनेको तालमा पानीको सतह बढ्दै गएपछि थप बाढी आउन सक्ने जोखिमले उद्धारकर्मीमाथि चुनौती थपिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबारसम्म ५१७ जना विदेशी नागरिक सम्पर्कविहीन रहेका थिए। बेपत्ता बेलायती नागरिकमध्ये १३ वर्षीया किशोरी र १४ वर्षीय किशोर समेत रहेको बताइएको छ।

यसैबीच, बेलायतको एसेक्सस्थित प्रिन्सेस एलेक्जान्ड्रा अस्पतालमा कार्यरत एक नेपाली मूलका नर्सले आफ्ना आफन्तसमेत बाढीमा बेपत्ता भएको बताएका छन्। उनकी श्रीमतीका काका–काकी, उनीहरूकी नातिनी र उनका श्रीमान् तथा आफूले धर्मपुत्रजस्तै मान्ने एक युवकसमेत बाढीमा हराइरहेका छन्।

उनले बाढी अत्यन्त तीव्र गतिमा आएको र मानिसहरूलाई जोगाउने अवसरसमेत नदिएको बताएका छन्। उनका अनुसार पानीको भेलले बस्ती तथा गाउँहरू नै बगाएको थियो।

यस घटनाप्रति बेलायतस्थित नेपाली समुदायले समेत गहिरो चिन्ता व्यक्त गरेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले विपद्लाई नेपालले भोगेको ‘अपूरणीय क्षति’ भन्दै जलवायु परिवर्तनको असरप्रति समेत चिन्ता व्यक्त गरेका छन्।

उद्धार टोलीले जोखिमका बीच बेपत्ता नागरिकको खोजीलाई निरन्तरता दिइरहेको छ भने प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता पुर्‍याउने प्रयाससमेत जारी छ।

प्रतिक्रिया