२०८३, १३ श्रावण बुधबार
×

ट्रेन्डिङ

सुनसरी घटनापछि सर्वदलीय बैठकको ७ बुँदे संयुक्त अपिल जारी, शान्ति र सामाजिक सद्भाव कायम राख्न आग्रह

0 Shares
Spread the love

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा विकसित पछिल्लो संवेदनशील घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सात बुँदे संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ।

बैठकमा सहभागी राजनीतिक दलहरूले पछिल्ला घटनामा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

संयुक्त वक्तव्यमा नेपालको पहिचान विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै सामाजिक तथा धार्मिक सद्भाव खल्बल्याउने कुनै पनि गतिविधि, उत्तेजना र हिंसात्मक प्रवृत्तिबाट टाढा रहन सम्पूर्ण नागरिकलाई अपिल गरिएको छ। आवेग, द्वन्द्व र मुठभेडले समस्या समाधान नगरी थप जटिलता सिर्जना गर्ने भएकाले सबै पक्षलाई संयम अपनाउन आग्रह गरिएको छ।

राजनीतिक दलहरूले लोकतान्त्रिक व्यवस्थामा कुनै पनि असन्तुष्टि वा विवादको समाधान शान्तिपूर्ण संवाद, वार्ता र सहमतिमार्फत मात्र सम्भव हुने उल्लेख गर्दै सम्बन्धित सबै पक्षलाई आफ्ना माग शान्तिपूर्ण ढंगले प्रस्तुत गर्न आह्वान गरेका छन्।

स्थानीय तहसम्म सर्वदलीय संवाद विस्तार गर्ने निर्णय

संयुक्त वक्तव्यमा केन्द्रको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै प्रदेश, जिल्ला र स्थानीय तहमा समेत तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न सबै राजनीतिक दलका मातहतका समितिलाई निर्देशन दिने निर्णय गरिएको छ। स्थानीय तहमा धार्मिक अगुवा, नागरिक समाज, स्थानीय प्रशासन तथा सरोकारवाला निकायलाई समेटेर विश्वासको वातावरण निर्माण गर्न विशेष जोड दिइएको छ।

सामाजिक सञ्जालमा संयमता अपनाउन आग्रह

बैठकले संवेदनशील समयमा सामाजिक सञ्जालमार्फत फैलिने अफवाह, भ्रामक सूचना र घृणास्पद अभिव्यक्तिले परिस्थिति थप जटिल बनाउन सक्ने भएकाले आम नागरिकलाई जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह गरेको छ। सञ्चारमाध्यमलाई पनि तथ्यपरक, सन्तुलित र जिम्मेवार समाचार सम्प्रेषण गर्न अपिल गरिएको छ।

सरकारको ध्यानाकर्षण

संयुक्त वक्तव्यमार्फत राजनीतिक दलहरूले नागरिकको जिउधनको सुरक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै नेपाल सरकारलाई अधिकतम संयमता अपनाई शान्ति–सुरक्षा कायम गर्न, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेका छन्।

बैठकले भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनीतिक दलहरूले केन्द्रीय तहबाट निरन्तर समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

संयुक्त अपिलको अन्त्यमा सहभागी सबै राजनीतिक दलहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिको पक्षमा आफूहरू एकताबद्ध रहेको सन्देश दिँदै उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार तथा समाजसँग सहकार्य गर्न प्रतिबद्ध रहेको जनाएका छन्।

प्रतिक्रिया