२०८३, १३ श्रावण बुधबार
×

ट्रेन्डिङ

सुनसरी घटनाबारे सर्वदलीय बैठक सम्पन्न, धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गर्ने निर्णय

0 Shares
Spread the love

काठमाडौं। सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण अवस्था तथा शान्ति–सुरक्षाको विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ।

रास्वपाका सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकमा देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका थिए। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले सुनसरीलगायत प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै दलले संयुक्त रूपमा नागरिकलाई संयम अपनाउन अपिल गर्ने सहमति भएको जानकारी दिए।

बैठकमा सहभागी नेताहरूले संवेदनशील परिस्थितिमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले संकटका बेला सरकारको सक्रिय उपस्थिति र प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राखेका थिए।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सुनसरीसहित विभिन्न क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थाबारे बैठकमा विस्तृत छलफल भएको बताए। उनका अनुसार भीड नियन्त्रण, शान्ति–सुरक्षाको अवस्था सुदृढ बनाउने तथा यस्ता घटना दोहोरिन नदिने उपायबारे सहभागी दलका नेताहरूले गम्भीर चासो व्यक्त गरेका छन्।

बैठकका क्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा तथा नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि वर्तमान परिस्थितिमा सरकारको भूमिका प्रभावकारी हुन नसकेको भन्दै प्रधानमन्त्रीको सक्रियता र सरकारको कार्यशैलीबारे प्रश्न उठाएका थिए।

सर्वदलीय बैठकले संवेदनशील घटनालाई राजनीतिक वा सामाजिक विभाजनको विषय नबनाई कानुनी प्रक्रियामार्फत निष्पक्ष छानबिन गर्न, शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन तथा धार्मिक र सामाजिक सद्भावलाई कुनै पनि हालतमा खल्बलिन नदिन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। संयुक्त विज्ञप्ति सार्वजनिक भएपछि त्यसमा सबै दलको साझा धारणा समेटिने जनाइएको छ।

प्रतिक्रिया