काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननायक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवसका अवसरमा जारी गरेको सन्देशमार्फत लोकतन्त्र, संविधान र राष्ट्रिय एकताको रक्षा गर्न सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्।
उनले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिशोधको राजनीति, संवैधानिक संस्थामाथिको हस्तक्षेप तथा लोकतान्त्रिक मूल्यमान्यतामाथि बढ्दो दबाबप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
देउवाले बीपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलापको नीति आज पनि नेपालको राजनीतिक यात्राका लागि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै राष्ट्रहित, लोकतन्त्र र जनताको सर्वोच्चतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने बीपीको विचार वर्तमान चुनौती समाधानको मार्गदर्शक बन्न सक्ने बताएका छन्।
सन्देशमा देउवाले आफू नेपाली कांग्रेसको साधारण कार्यकर्तादेखि नेतृत्वसम्म आइपुग्ने क्रममा निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी शक्तिविरुद्ध निरन्तर संघर्ष गरेको स्मरण गर्दै लोकतन्त्रभन्दा ठूलो कुनै विकल्प नरहेको स्पष्ट पारेका छन्। उनले कांग्रेसले शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्पपछिको पुनर्निर्माण तथा कोभिड–१९ महामारीका कठिन समयमा पनि जिम्मेवार भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।
देउवाले पछिल्ला दिनमा प्रतिपक्षमाथि दबाब सिर्जना गर्ने, न्यायपालिका तथा संवैधानिक संस्थाहरूलाई प्रभावित पार्ने प्रयास लोकतन्त्रका लागि चिन्ताजनक रहेको बताएका छन्। यस्तो प्रवृत्तिले संविधान, लोकतान्त्रिक प्रणाली र नागरिक स्वतन्त्रतालाई कमजोर बनाउने भन्दै उनले लोकतान्त्रिक मूल्य र संस्थाको संरक्षण सबैको साझा दायित्व भएको बताएका छन्।
उनले अब देशलाई विभाजन होइन, एकता चाहिएको; अविश्वास होइन, विश्वास चाहिएको; प्रतिशोध होइन, सहकार्य आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय संवाद, साझा सहकार्य र समावेशी विकासमार्फत मात्रै देशलाई स्थिरता र समृद्धिको दिशामा अघि बढाउन सकिने बताएका छन्।
सन्देशको अन्त्यमा देउवाले लोकतन्त्र, राष्ट्रियता, संविधान र सामाजिक न्यायप्रति नेपाली कांग्रेसको प्रतिबद्धता पुनः दोहोर्याउँदै नागरिक समाज, युवा पुस्ता र सम्पूर्ण नेपालीलाई लोकतान्त्रिक मूल्यको संरक्षण तथा राष्ट्र निर्माणको अभियानमा साथ दिन आग्रह गरेका छन्।

