काठमाडौं– विदेशमा बसोबास गर्ने गैरआवासीय नेपाली (एनआरएन) ले नेपालमा बैंक खाता खोल्न र वित्तीय सेवा लिन भोग्दै आएको समस्या समाधानतर्फ महत्वपूर्ण पहल भएको छ।
परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई पत्राचार गर्दै गैरआवासीय नेपालीका लागि ग्राहक पहिचान (KYC) प्रक्रिया सहज बनाउन आवश्यक समन्वय गर्न आग्रह गरेको हो।
मन्त्रालयले नेपाल सरकारको राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नीतिपछि बैंक तथा वित्तीय संस्थाहरूले KYC का लागि राष्ट्रिय परिचय नम्बर (NIN) माग्न थालेकाले विदेशमा रहेका धेरै गैरआवासीय नेपाली बैंकिङ सेवाबाट वञ्चित भएको जनाएको छ।
यस सम्बन्धमा मन्त्रालयमा पटक–पटक गुनासो प्राप्त भएपछि सहजीकरणको पहल गरिएको पत्रमा उल्लेख छ।परराष्ट्र मन्त्रालयका अनुसार गैरआवासीय नेपाली नागरिकता (NRN Citizenship) प्राप्त नेपाली नागरिक तथा गैरआवासीय नेपाली परिचयपत्र (NRN Card) प्राप्त नेपाली मूलका विदेशी नागरिकलाई हालसम्म राष्ट्रिय परिचय नम्बर जारी गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयनमा नआएकाले उनीहरूलाई बैंकिङ सेवा लिन कठिनाइ भइरहेको छ।
मन्त्रालयले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका, २०८२ को ग्राहक पहिचान (KYC) सम्बन्धी व्यवस्थालाई उल्लेख गर्दै राष्ट्रिय परिचयपत्र नभए पनि कानुनी रूपमा मान्यता प्राप्त अन्य परिचयका आधारमा ग्राहक पहिचान गर्न सकिने व्यवस्था रहेको स्मरण गराएको छ।
यसै आधारमा मन्त्रालयले नागरिकताको प्रमाणपत्र, राहदानी, गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र तथा गैरआवासीय नेपाली परिचयपत्रलाई KYC का लागि पर्याप्त आधार मानी बैंक खाता खोल्न र सञ्चालन गर्न आवश्यक निर्देशन तथा परिपत्र जारी गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।यदि यो व्यवस्था प्रभावकारी रूपमा लागू भयो भने विश्वभर रहेका लाखौं गैरआवासीय नेपालीले नेपालमा बैंक खाता खोल्न, बचत गर्न, लगानी गर्न तथा अन्य वित्तीय कारोबार गर्न सहज हुने अपेक्षा गरिएको छ। मन्त्रालयको यो कदमलाई गैरआवासीय नेपाली समुदायले लामो समयदेखि उठाउँदै आएको समस्याको समाधानतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
