काठमाडौं । आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका २५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको आज बिहान २:०५ बजे मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
गत शुक्रबार साँझ करिब ७:३० बजे मण्डलले आफ्नै घरबाट करिब २ सय मिटर टाढा गएर शरीरमा पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेका थिए। घटनालगत्तै गम्भीर घाइते अवस्थामा उद्धार गरिएका उनलाई हेलिकप्टरमार्फत तत्काल उपचारका लागि काठमाडौँ ल्याइएको थियो।
कीर्तिपुर बर्न अस्पताल पुर्याएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरी चिकित्सकहरूको टोलीले निरन्तर निगरानी र उपचार सुरु गरेको थियो। यद्यपि, शरीरको अधिकांश भाग गम्भीर रूपमा जलेको कारण चिकित्सकहरूको हरसम्भव प्रयासका बाबजुद पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ।
अत्यन्तै दुःखद मानिएको यस घटनाले मण्डलको परिवारमा ठूलो शोक छाएको छ। मृतक मण्डलका श्रीमती, एक छोरा र एक छोरी छन्। घटनाको थप अनुसन्धान भइरहेको छ।