लन्डन– बेलायतमा एक युवतीप्रति काल्पनिक प्रेम सम्बन्ध रहेको भ्रम पालेर ज्यान मार्ने तथा यौन हिंसाको धम्की दिने नेपाली मूलका २२ वर्षीय सुशील पुनलाई अदालतले ६ वर्षको कैद सजाय सुनाएको छ।
सरे प्रहरीका अनुसार जुलाई २०२५ को प्रारम्भमा पुनलाई उनका परिवारले ‘उच्च जोखिममा हराइरहेका व्यक्ति’का रूपमा प्रहरीमा खबर गरेका थिए। परिवारले उनको मोबाइल फोन र पासवर्ड प्रहरीलाई उपलब्ध गराएपछि अनुसन्धानका क्रममा प्रहरीले युवती र उनका आमाबुबालाई पठाइएका धम्कीपूर्ण सन्देश फेला पारेको थियो।
अनुसन्धानबाट पुनले आफू र ती युवतीबीच प्रेम सम्बन्ध रहेको काल्पनिक विश्वास बनाएको खुलेको छ। तर ती युवतीले भने प्रहरीबाट जानकारी पाएपछि मात्र पुनको नाम थाहा पाएकी थिइन्। उनीहरू एउटै कलेजमा अध्ययन गरे पनि आपसी चिनजान अत्यन्त सामान्य रहेको र पुनले किन यस्तो काल्पनिक सम्बन्धको विश्वास बनाए भन्ने खुल्न सकेको छैन।
प्रहरीका अनुसार पुनले युवती र उनका परिवारलाई पटक–पटक ज्यान मार्ने तथा गम्भीर यौन हिंसाको धम्की दिएका थिए। उनले पठाएका सन्देशमा “अब म उसलाई के गर्छु, हेर्दै जानु” र “तिम्रो लागि ठूलो धारिलो हतियार तयार छ” भन्ने चेतावनीसमेत उल्लेख थियो।
गत ३० जुनमा गिल्डफोर्ड क्राउन कोर्टले क्याम्बरली निवासी सुशील पुन (जन्म: २७ सेप्टेम्बर २००३) लाई हिंसाको भय उत्पन्न हुने किसिमको स्टकिङ र उत्पीडन सम्बन्धी अभियोगमा दोषी ठहर गर्दै ६ वर्षको कैद सजाय सुनाएको हो।
अदालतले पुनविरुद्ध १५ वर्षका लागि स्टकिङ प्रोटेक्सन अर्डर समेत जारी गरेको छ, जुन उनी जेलमुक्त भएपछि पनि लागू रहनेछ। साथै उनलाई २२८ पाउन्ड पीडित सहायता शुल्क (Victim Surcharge) तिर्न आदेश दिइएको छ।
मुद्दाका अनुसन्धान अधिकृत डिटेक्टिभ कन्स्टेबल क्विन प्यारीले अभियुक्तको व्यवहार अत्यन्तै आसक्तिपूर्ण, जुनूनी, अवाञ्छित र पटक–पटक दोहोरिने प्रकृतिको रहेको बताए। उनका अनुसार अभियुक्तले पीडितमाथि निगरानीसमेत गरेको थियो र उनले सिर्जना गरेको जोखिमलाई सामान्य रूपमा लिन नसकिने अवस्था थियो।
पीडित युवतीका बुबाले अदालतमा दिएको बयानमा भनेका छन्, “यो घटनाले मेरी छोरीको स्वतन्त्रता र जीवनप्रतिको खुसी खोसेको छ। अहिले उनी मानिसहरूमाथि विश्वास गर्नसमेत डराउँछिन्। कुनै गल्ती नगरेकी छोरीले आफैंलाई दोष दिन थालेको देख्दा हामी अत्यन्त पीडित भएका छौं।”