२०८३, २ असार मंगलवार
×

ट्रेन्डिङ

राहदानी खरिद प्रकरणमा डीजी अर्यालसहित चार जना अख्तियारको नियन्त्रणमा

0 Shares
Spread the love

काठमाडौं — राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। राहदानी छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी उजुरीमाथि छानबिन गर्दै आयोगले मंगलबार उनलाई त्रिपुरेश्वरस्थित विभाग कार्यालयबाट नियन्त्रणमा लिएको हो।

अख्तियार स्रोतका अनुसार आयोगको टोलीले सोमबार साँझ नै राहदानी विभाग पुगेर महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको थियो। सोही क्रममा महानिर्देशक अर्यालमाथि निगरानी बढाइएको बताइएको छ। अर्याल सोमबार मात्रै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए।

यस प्रकरणमा आयोगले राहदानी छपाइसँग सम्बन्धित कम्पनी ‘भेरिडोस’का स्थानीय प्रतिनिधि तथा व्यवसायी सिद्धार्थ थापालाई पनि नियन्त्रणमा लिएर बयान लिइरहेको छ। थापा नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य सुनिल थापाका छोरा हुन्।

राहदानी विभागले हालै नयाँ ई-पासपोर्ट छपाइका लागि जर्मनीका कम्पनीहरू ‘मुलबाउर’ र ‘भेरिडोस’सँग सम्झौता गरेको थियो। उक्त ठेक्का प्रक्रियामा आर्थिक अनियमितता, प्रभावको दुरुपयोग तथा मिलेमतो भएको आरोपसहित अख्तियारमा उजुरी परेपछि अनुसन्धान अघि बढाइएको हो।

अनुसन्धानको दायरा महानिर्देशक अर्याल र व्यवसायी थापामा मात्र सीमित नरहेको स्रोतले जनाएको छ। विभागका प्रशासन तथा व्यवस्थापन शाखा प्रमुख एवं प्रवक्ता सोमेश थापा तथा सूचना प्रविधि (आईटी) शाखाका निर्देशक सुनिलकुमार केसीलाई समेत अख्तियारले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको राहदानी खरिद तथा छपाइ प्रक्रियामा सम्भावित भ्रष्टाचार र मिलेमतोबारे अख्तियारले विशेष अनुसन्धान टोली गठन गरी विस्तृत छानबिन अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप व्यक्तिमाथि पनि कारबाहीको दायरा विस्तार हुन सक्ने संकेत आयोग स्रोतले दिएको छ।

प्रतिक्रिया