२०८३, २० जेष्ठ बुधबार
×

ट्रेन्डिङ

भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच द्विपक्षीय भेटवार्ता

0 Shares
Spread the love

काठमाडौं। पाँच दिने औपचारिक भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेका छन्।

दुई देशबीच पछिल्लो समय विकसित राजनीतिक परिस्थिति र फेरिएको शक्ति सन्तुलनका बीच भएको यस भेटवार्तालाई दक्षिण एसियाली कूटनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ। यो भेटवार्ता दुवै पक्षका उच्चस्तरीय प्रतिनिधिमण्डलको उपस्थितिमा भएको हाे।

भेटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल जहिले पनि प्राथमिक साझेदार मुलुकका रूपमा रहेको बताए।

उनले नेपाल-भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन काठमाडौंको नयाँ राजनीतिक नेतृत्व र सरकारसँग सहकार्य र साझेदारी बढाउन भारत उत्सुक रहेको बताए।

यसअघि नयाँ दिल्ली बसाइका क्रममा सभापति लामिछानेले भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीन, भारतका विदेश मन्त्री एस. जयशंकर र गृह मन्त्री अमित शाहसँग पनि बेग्लाबेग्लै उच्चस्तरीय भेटवार्ता गरेका थिए।

ती भेटहरूमा नेपाल-भारत विकास साझेदारी, क्रस-बर्डर कनेक्टिभिटी, सीमापार आपराधिक गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन र जनस्तरको सम्बन्ध सुदृढ गर्ने विषयमा सघन छलफल भएको थियो।

भाजपा मुख्यालय पुग्दा लामिछाने र उनको टोलीलाई रेड कार्पेटसहित भव्य स्वागत गरिएको थियो। नेपालमा गत फागुनमा सम्पन्न निर्वाचन र राजनीतिक समीकरण परिवर्तनपछि भारत सरकारले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति लामिछाने दुवैलाई नयाँ दिल्ली भ्रमणको निमन्त्रणा पठाएको थियो।

प्रधानमन्त्री शाहको भारत भ्रमण तत्काल तय हुन नसकेपछि नयाँ नेतृत्वसँग उच्चस्तरीय सम्पर्क स्थापित गर्ने भारतको नीतिअनुसार लामिछाने पहिलो भ्रमणकर्ता बनेका हुन्।

यद्यपि, नेपाल सरकारका प्रवक्ताले यस भ्रमणलाई लामिछानेको दलगत र व्यक्तिगत राजनीतिक भ्रमणका रूपमा व्याख्या गर्दै यसलाई प्रधानमन्त्रीको औपचारिक भ्रमणको विकल्पका रूपमा बुझ्न नहुने स्पष्ट पारेका छन्।

आफ्नी धर्मपत्नी निकिता पौडेल तथा रास्वपाका नेताहरू बिपिन आचार्य र दीपक बोहरासहित भारत पुगेका लामिछानेको टोलीले दिल्लीको औपचारिक राजनीतिक भेटघाट सम्पन्न गरिसकेको छ।

भ्रमण तालिकाअनुसार उनले भारतमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने जेठ २२ गते यो टोली स्वदेश फर्कनेछ।

प्रतिक्रिया