भरत प्रधान,लिस्बन। लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको छ।
दूतावासले कोइम्ब्राको मरिन्हा दास ओन्दासमा दुईदिने घुम्ती शिविर सञ्चालन गरेर त्यहाँ रहेका नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको हो । घुम्ती शिविरबाट कुल ८२ जना सेवाग्राही नेपालीले सेवा लिएको दूतावासका प्रथम सचिव रामबाबु नेपालले जानकारी दिनुभयो । जसमा ४० जना नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको छ । यस्तै नौ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) प्रमाणीकरण, ३१ जनाको शैक्षिक तथा अन्य कागजात प्रमाणीकरण र दुई जनाको राहदानी वितरण गरिएको नेपालले बताउनुभयो। शिविरबाट छ हजार ७ सय ४५ युरो अर्थात् झण्डै १२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।
राजधानी लिस्बनदेखि टाढा रहेका नेपालीहरुलाई सोही स्थानमै पुगेर सहज रुपमा दूतावासको सेवा उपलब्ध गराउने उद्धेश्य अनुरुप घुम्ती सेवा सञ्चालन गरिएको नेपालले बताउनुभयो । शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालन भएको शिविरमा राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र बालबालिकाको विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको थियो । यस्तै तयार भएर आएको राहदानी वितरण, प्रहरी रिपोर्टलगायतका अन्य कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरिएको दूतावासले जनाएको छ ।
दूतावासले मदेइराको फुन्चालमा आगामी जुन ५ र ६ तारिख र एजोरेसको पोन्टा डेलगाडामा आगामी जुन २० र २१ तारिखमा घुम्ती शिविर सञ्चालन गरी सो क्षेत्रका नेपालीलाई सेवा प्रदान गर्ने जनाएको छ। यसअघि दूतावासले पोर्चुगलको फारो, मदेइरा, पोर्तो र ओदिमिरामा घुम्ती शिविर सञ्चालन गरेर त्यहाँ रहेका नेपालीलाई सेवा प्रदान गरेको थियो ।