भरत प्रधान,लिस्बन। लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलका विभिन्न सहरमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण (कन्सुलर सेवा) सम्बन्धी घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।
दूतावासले कोइम्ब्रा, मदेइरा र एजोरेसमा दुई दिने राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण (कन्सुलर सेवा) सम्बन्धी घुम्ती शिविर सञ्चालन गर्ने भएको हो । दूतावासका अनुसार कोइम्ब्राको मरिन्हा दास ओन्दासमा भोलि र पर्सि अर्थात् यही मे २३ र २४ तारिखमा शिविर सञ्चालन हुनेछ । भने मदेइराको फुन्चालमा आगामी जुन ५ र ६ तारिख र एजोरेसको पोन्टा डेलगाडामा आगामी जुन २० र २१ तारिखमा घुम्ती शिविर सञ्चालन हुने बताइएको छ।
राजधानी लिस्बनदेखि टाढा रहेका नेपालीहरुलाई सोही स्थानमै पुगेर सहज रुपमा दूतावासको सेवा उपलब्ध गराउने उद्धेश्य अनुरुप घुम्ती सेवा सञ्चालन गर्न लागिएको दूतावासले जनाएको छ । दूतावासको टोलीले राहदानीको म्याद सकिएका, हराएका, क्षति भएका तथा राहदानीको म्याद एक वर्षभन्दा कम भएकाहरुको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गर्ने छ । साथै राहदानी नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण, पारिवारिक कागजात प्रमाणीकरण, शैक्षिक प्रमाणपत्र प्रमाणीकरणलगायतका कन्सुलर सेवा प्रदान गर्ने दूतावासले जनाएको छ ।
राजधानी लिस्बनबाट टाढा रहेका नेपालीहरूलाई घुम्ती शिविरमार्फत सहज सेवा उपलब्ध गराउने योजनाअनुरुप पोर्चुगलका विभिन्न स्थानमा शिविर सञ्चालन गर्न लागिएको दूतावासका प्रथम सचिव रामबाबु नेपालले बताए । दूतावास धाउन टाढा भएकै कारण राजधानी बाहिर रहेका नेपालीलाई राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणमा समस्या नहोस् भन्ने उद्देश्यले घुम्ती शिविरमार्फत सेवा दिन लागिएको नेपालले बताए।
शिविरका अवसरमा सो क्षेत्रका नेपाली समुदायसँग अन्तरक्रिया तथा छलफल कार्यक्रमसमेत आयोजना गरिएको दूतावासले जनाएको छ। विद्युतीय राहदानीका लागि अनलाइन अपोइन्टमेन्ट लिन र फारम भर्न सेवाग्राहीलाई दूतावासले आग्रहसमेत गरेको छ । यसअघि दूतावासले पोर्चुगलको फारो, मदेइरा, पोर्तो र ओदिमिरामा घुम्ती शिविर सञ्चालन गरेर त्यहाँ रहेका नेपालीलाई सेवा प्रदान गरेको थियो ।