काठमाडौं । समस्याग्रस्त सहकारी संस्थाका साना बचतकर्तालाई राहत दिने अभियानअन्तर्गत सरकारले थप ३ सय ४ जना बचतकर्ताको रकम फिर्ता गरेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार बुधबार कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई रकम भुक्तानी गरिएको हो। यसक्रममा कृषि सहकारीका ८८ जना तथा शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २ सय १६ जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्।
यसअघि समितिले कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारीका ७ जना गरी कुल ३ सय ७८ जना बचतकर्तालाई रकम फिर्ता गरिसकेको थियो।
समितिले पहिलो चरणमा न्यून रकम बचत गरेका साना बचतकर्तालाई प्राथमिकतामा राखेर भुक्तानी प्रक्रिया अघि बढाइएको जनाएको छ। बचत रकमको आकारका आधारमा वर्गीकरण गर्दै क्रमिक रूपमा अन्य बचतकर्तालाई पनि रकम फिर्ता गरिने समितिको भनाइ छ।
समितिका अनुसार हाल समस्याग्रस्त घोषित सहकारी संस्थामा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्।
पाँच लाख रुपैयाँभन्दा कम बचत गर्ने व्यक्तिलाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी बचत गर्नेहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको समितिले जनाएको छ। कुल बचतकर्तामध्ये पाँच लाखभन्दा बढी रकम बचत गर्ने करिब १८ हजार जना रहेका छन्।