२०८३, ७ जेष्ठ बिहीबार
×

ट्रेन्डिङ

प्लेकार्ड प्रदर्शनपछि सांसद हर्कराज राईलाई सभामुखको चेतावनी

0 Shares
Spread the love

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा बुधबार सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्कराज राईलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन् ।

लगातार केही दिनदेखि संसद् बैठकमा प्लेकार्ड प्रदर्शन गर्दै आएका श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद राईले बुधबारको बैठकमा पनि विरोध जनाएपछि सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्था स्मरण गराउँदै चेतावनी दिएका हुन्।

सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम ३० उल्लेख गर्दै बैठकको मर्यादा विपरीत गतिविधि नगर्न र आफ्नो व्यवहार नियन्त्रणमा राख्न निर्देशन दिए। उक्त नियममा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्ने र त्यसपछि सम्बन्धित सदस्यले तत्काल आफ्नो व्यवहार सच्याउनुपर्ने व्यवस्था छ।

सभामुखको चेतावनीपछि सांसद राईले पनि नियमावलीकै आधारमा प्रतिप्रश्न गर्दै संसद् सञ्चालन प्रक्रियामाथि प्रश्न उठाए। उनले सभामुखतर्फ संकेत गर्दै, “प्रतिनिधि सभा नियमावलीको नियम १५ पालना गराउनु भयो ?” भन्दै प्रश्न गरेका थिए।

राईले उल्लेख गरेको नियम १५ शून्य तथा विशेष समयसँग सम्बन्धित व्यवस्था हो। उक्त प्रावधानअनुसार सांसदहरूले समसामयिक तथा गम्भीर सार्वजनिक महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराउन समय माग गर्न सक्ने व्यवस्था छ। साथै आकस्मिक प्रकृतिका विषयमा तत्काल बोल्न समय माग गरिए सभामुखले विशेष समय उपलब्ध गराउन सक्ने अधिकार पनि नियमावलीले दिएको छ।

पछिल्ला दिनहरूमा संसद् बैठकमा विरोध, नाराबाजी र प्लेकार्ड प्रदर्शन बढिरहेका बेला सभामुख र सांसदबीच भएको यो संवादले संसदीय अनुशासन, अभिव्यक्ति स्वतन्त्रता र संसद्को कार्यशैलीबारे नयाँ बहस सुरु गराएको छ।

प्रतिक्रिया