काठमाडौं। नेकपा एमालेका सांसद ऐनबहादुर महरले सरकार र प्रधानमन्त्रीले संसद एवं संविधानप्रति पूर्ण जवाफदेही हुनुपर्नेमा जोड दिएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले वर्तमान शासन व्यवस्था शहीदहरूको बलिदानबाट प्राप्त भएको स्मरण गराउँदै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।
उनले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति लक्षित गर्दै सरकारले संविधान सम्मत शासन प्रणाली भन्दा पनि नयाँ खालको ‘तन्त्र’ विकास गर्न खोजेको हो कि भन्ने आशंका व्यक्त गरे।
“अहिलेको सरकारले कुन शासन प्रणाली अवलम्बन गरिरहेको छ?” उनले प्रश्न गर्दै भने, “प्रधानमन्त्रीले लोकतन्त्रलाई भन्दा पनि कतै ‘बालेन तन्त्र’ पो विकास गर्न लाग्नुभएको हो कि भन्ने आम जिज्ञासा र प्रश्न उठेको छ।”
सांसद महरले प्रधानमन्त्रीले पटक-पटक संसदको उपेक्षा र अपमान गरेको भन्दै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरे। सरकारको मुख्य नीति तथा कार्यक्रम प्रस्तुत हुने जस्तो महत्त्वपूर्ण समयमा पनि प्रधानमन्त्री सदनमा उपस्थित नहुनुले संसदीय पद्धतिको खिल्ली उडाएको उनको तर्क थियो।
“सरकार संसद र संविधानप्रति उत्तरदायी बन्नुपर्छ,” महरले भने, “जवाफदेही बन्ने मुख्य समयमा नै प्रधानमन्त्री संसदमा अनुपस्थित हुनु दुःखद छ।”
उनले सरकारलाई तुरुन्तै संसदीय मर्यादा पालना गर्न र जनताका प्रतिनिधिहरूप्रति उत्तरदायी बन्न आग्रह गरे।