काठमाडौं ।भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना आज बिहानदेखि तीव्र गतिमा जारी छ। प्रारम्भिक रुझानहरूले विभिन्न राज्यमा फरक–फरक राजनीतिक परिदृश्य देखाउँदै आगामी सत्ता समीकरणबारे चासो बढाएको छ।
तमिलनाडुमा अभिनेता विजयको नेतृत्वमा स्थापित नयाँ राजनीतिक शक्ति ‘तमिलगा भेत्री कझगम (टीभीके)’ ले अप्रत्याशित रूपमा बलियो उपस्थिति देखाउँदै सत्ताको नजिक पुगेको छ।
२३४ सदस्यीय विधानसभा रहेको यस राज्यमा बहुमतका लागि ११८ सिट आवश्यक हुन्छ। पछिल्लो रुझानअनुसार, टीभीके १०५ सिटमा अग्रता लिएर पहिलो शक्तिका रूपमा देखिएको छ।
यसैबीच, कांग्रेस सम्मिलित एआईएडीएमके गठबन्धन ७६ सिटमा सीमित हुँदा भाजपा सम्मिलित डीएमके गठबन्धन ५१ सिटमा खुम्चिएको देखिन्छ।
विश्लेषकहरूका अनुसार,
दशकौँदेखि दुई प्रमुख द्रविड दलको वर्चस्व रहेको तमिलनाडुमा विजयको उदय राजनीतिक ‘गेम–चेन्जर’ बन्न सक्ने संकेत हो।
पश्चिम बंगालमा सत्तारुढ तृणमूल कांग्रेस र भारतीय जनता पार्टीबीच कडा प्रतिस्पर्धा देखिएको छ। प्रारम्भिक रुझानमा भाजपा १४७ सिटमा अग्रता लिएर बहुमतको संघारमा पुगेको छ भने ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस १२७ सिटमा पछि परेको छ।
यहाँ बहुमतका लागि १४८ सिट आवश्यक भएकाले अन्तिम नतिजा नआउन्जेल सत्ता समीकरण स्पष्ट नहुने देखिएको छ।
गणना केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने धाँधलीका आरोपलाई लिएर दलहरूबीच आरोप–प्रत्यारोप सुरु भइसकेको छ।
असममा मुख्यमन्त्री हिमन्त बिस्वा सरमाको नेतृत्वमा रहेको भाजपा गठबन्धनले स्पष्ट बहुमततर्फ अग्रसर हुँदै ९५ सिटमा अग्रता कायम गरेको छ। विपक्षी कांग्रेस गठबन्धन भने २७ सिटमा सीमित देखिएको छ।
यसले असममा भाजपा नेतृत्वको निरन्तरता कायम रहने संकेत दिएको छ।
केरलामा भने सत्ता परिवर्तनको परम्परागत चक्र दोहोरिने संकेत देखिएको छ। कांग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ) ५९ सिटमा अग्रता लिँदै अगाडि बढ्दा सत्तारुढ वामपन्थी गठबन्धन (एलडीएफ) ४१ सिटमा पछि परेको छ।
केन्द्रशासित प्रदेश पुडुचेरीमा पनि भाजपा नेतृत्वको गठबन्धनले आफ्नो अग्रता कायम राख्दै सत्ता निरन्तरतर्फ अघि बढेको देखिएको छ।
प्रारम्भिक नतिजाहरूले भारतको दक्षिणदेखि पूर्वी क्षेत्रसम्म राजनीतिक शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तनको संकेत दिएका छन्।
विशेषगरी तमिलनाडुमा नयाँ शक्ति उदय हुनु र बंगालमा कडा प्रतिस्पर्धा देखिनु
आगामी दिनमा राष्ट्रिय राजनीतिक समीकरणमा समेत प्रभाव पार्ने सम्भावना रहेको विश्लेषण गरिएको छ।