२०८३, १४ बैशाख सोमबार
×

ट्रेन्डिङ

भ्रामक पोस्टरप्रति सुहाङको आपत्ति, सतर्क रहन सञ्चारकर्मीलाई आग्रह

0 Shares
Spread the love

काठमाडौं- नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आफ्नो नाम र तस्बिर प्रयोग गरेर सामाजिक सञ्जालमा फैल्याइएका भ्रामक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा बैठक स्थगनपछि आफू इलामकेन्द्रित अभियानमा व्यस्त रहेको आइतबार उल्लेख गरेका छन्।

उनले सार्वजनिक सरोकारका विषयमा सधैं स्पष्ट धारणा राख्दै आएको बताउँदै पछिल्ला राजनीतिक घटनाक्रमलाई दीर्घकालीन प्रभावका आधारमा विश्लेषण गरिरहेको जनाएका छन्।

नेम्वाङले सामाजिक सञ्जालका विभिन्न पेजहरूमा ‘उनको भनाइ’ भन्दै प्रचारित पोस्टर र डिजाइनहरू आफ्नो वास्तविक धारणा नभएको स्पष्ट पारेका छन्।
‘ती सामग्रीमा व्यक्त विचार मेरो व्यक्तिगत वा राजनीतिक दृष्टिकोणसँग मेल खाँदैनन्,’ उनले भनेका छन्।

उनले सञ्चारकर्मी तथा सर्वसाधारणलाई यस्ता भ्रामक सामग्री पोस्ट वा शेयर नगर्न आग्रह गरेका छन्। साथै, गलत सूचनाका आधारमा कुनै धारणा नबनाउन समेत अनुरोध गरेका छन्।

जिम्मेवार सञ्चार माध्यमबाट यस्ता गतिविधि नभए पनि विभिन्न अनलाइन पेज र फेसबुकमार्फत् भ्रम फैल्याउने काम भइरहेको उनले बताएका छन्। त्यसप्रति सजग रहन उनले सबैलाई आह्वान गरेका छन्।

प्रतिक्रिया