२०८३, ११ बैशाख शुक्रबार
×

ट्रेन्डिङ

ठेक्का अनियमिततामा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे पक्राउ, सीआईबीद्वारा अनुसन्धान अघि बढ्दै

0 Shares
Spread the love

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। सरकारी बोलपत्र प्रणालीमा अनधिकृत पहुँच प्रयोग गरी ठेक्का आफ्नै कम्पनीलाई दिलाएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ।

सीआईबीका एआईजी डा. मनोज केसीले पाण्डेलाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार, सरकारी बोलपत्र सम्बन्धी वेबसाइटमा पहुँचको दुरुपयोग गर्दै प्रतिस्पर्धात्मक प्रक्रिया प्रभावित पारिएको आशंका गरिएको छ।

पाण्डे ‘कालिका कन्स्ट्रक्सन’का सञ्चालक समेत हुन्, जुन विगतमा पनि सार्वजनिक परियोजनासँग जोडिँदै आएको कम्पनी हो। यसअघि उनीमाथि सिक्टा सिँचाइ आयोजनामा भएको कथित भ्रष्टाचारसम्बन्धी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ सालमै मुद्दा दायर गरिसकेको थियो।

२०७९ सालमा सहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेका पाण्डे लामो समयदेखि ठेक्का र पूर्वाधार परियोजनासँग सम्बन्धित विवादमा तानिँदै आएका छन्। पछिल्लो पक्राउसँगै पुराना आरोप र नयाँ अनुसन्धानबीचको सम्बन्धबारे समेत चासो बढेको छ।

कानुनविद्हरूका अनुसार,
यदि सरकारी प्रणालीमा अनधिकृत पहुँच प्रमाणित भयो भने, यो केवल भ्रष्टाचार मात्र होइन, साइबर तथा प्रशासनिक अपराधको गम्भीर उदाहरण बन्न सक्छ।

सीआईबीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।
अबको प्रक्रिया र प्रमाणको मूल्यांकनले पाण्डेमाथि लागेका आरोपहरूको कानुनी भविष्य निर्धारण गर्नेछ।

प्रतिक्रिया