२०८३, ११ बैशाख शुक्रबार
×

ट्रेन्डिङ

लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीद्वारा गोली प्रहार, एक घाइते

0 Shares
Spread the love

काठमाडौं। काठमाडौंको साँखुमा लागुऔषधको कारोबार गरिरहेको अवस्थामा पक्राउ गर्ने क्रममा प्रहरी र कारोबारीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ। शुक्रबार साँझ साँखु आसपासको क्षेत्रमा भएको उक्त घटनामा प्रहरीले तीनजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ भने एकजना गोली लागेर घाइते भएका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले विशेष सूचनाका आधारमा लागुऔषध ओसारपसारमा संलग्न गिरोहलाई घेरा हालेको थियो।

सोही क्रममा पक्राउ पर्नबाट बच्न कारोबारीहरूले प्रहरीमाथि नै जाइलागेपछि नियन्त्रणमा लिन प्रहरीले बाध्य भई गोली चलाउनुपरेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीको गोली लागेर घाइते भएका एकजना कारोबारीको खुट्टामा चोट लागेको छ। घाइतेलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ भने उनको अवस्था खतरामुक्त रहेको छ।

घटनास्थलबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। पक्राउ परेका बाँकी दुईजनालाई नियन्त्रणमा लिएर प्रहरीले थप सोधपुछ तथा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। लामो समयदेखि साँखु र आसपासका क्षेत्रमा लागुऔषधको अवैध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो।

घटनापछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पक्राउ परेका व्यक्तिहरूको नाम र विस्तृत विवरण अनुसन्धानका क्रममा रहेको भन्दै प्रहरीले अहिले गोप्य राखेको छ। उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत म्याद थप गरी अनुसन्धान अघि बढाउने तयारी भइरहेको छ। अहिले उक्त क्षेत्रको अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया