काठमाडौं । पछिल्लो समय उठेका विभिन्न विवाद र जनचासोका विषयलाई मध्यनजर गर्दै गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले आफूले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि इमानदारीपूर्वक काम गरेको दाबी गर्दै, सार्वजनिक जीवनमा उठेका प्रश्नहरूलाई गम्भीर रूपमा लिएको उल्लेख गरेका छन्।
जारी वक्तव्यमा गुरुङले पदभन्दा नैतिकता ठूलो भएको र जनविश्वास नै नेतृत्वको आधार हुने बताएका छन्। उनले आफ्नो नाम जोडिएका शेयर तथा सम्पत्तिसम्बन्धी विषयमा निष्पक्ष छानबिन सुनिश्चित गर्न र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’को आशंका नहोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन्।
गुरुङले पछिल्ला दिनमा युवापुस्ताले उठाइरहेको सुशासन, पारदर्शिता र जवाफदेहिताको मागलाई सन्दर्भित गर्दै सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले देशमा परिवर्तनको अपेक्षा राख्ने सबैले नैतिक साहस देखाउनुपर्ने पनि उल्लेख गरेका छन्।
राजीनामासँगै उनले आफूले नैतिक जिम्मेवारी पूरा गरेको दाबी गर्दै अब आफ्नो विषयमा निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्नेमा जोड दिएका छन्। साथै, उनले सञ्चारमाध्यम र सर्वसाधारणलाई सत्य र पारदर्शिताको पक्षमा उभिन आह्वान गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार,
गुरुङको राजीनामाले सरकारमाथि बढ्दो दबाब र पारदर्शिताप्रतिको जनअपेक्षालाई प्रतिविम्बित गरेको छ, तर यसले उठेका प्रश्नहरूको अन्त्य नभई अब छानबिन प्रक्रियामार्फत सत्य उजागर गर्ने चरण सुरु भएको संकेत दिएको छ।
अब सरकारको निर्णय, छानबिनको दिशा र नयाँ नेतृत्व चयनले आगामी राजनीतिक समीकरणमा प्रभाव पार्ने देखिएको छ।