काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटा ले वर्तमान सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमाथि तीखो व्यङ्ग्य गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मन्त्रीहरूको सम्पत्ति, विशेषगरी सुनतर्फ लक्षित गर्दै कटाक्ष गरेका हुन्। “डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पहेँलपुर तोरी फुलेछ,” भन्दै उनले असमानताको संकेत गरेका छन्।
समृद्धि कि व्यङ्ग्य?
बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्रीहरूको सम्पत्ति विवरण हेर्दा देशमा समृद्धि आइसकेको जस्तो देखिएको तर त्यो जनतासम्म नपुगेको व्यङ्ग्य गरेका छन्।
“देश लङ्का बनिसकेछ… समृद्धि आएछ—सुशासन त्यहीँबाट सुरु हुन्छ,” उनले लेखेका छन्।
उखानमार्फत प्रहार
उनले “जहाँ कङ्गाल, त्यहाँ चण्डाल” भन्ने नेपाली उखान उद्धृत गर्दै अहिलेको अवस्था उल्टिएको संकेत गरेका छन्। उनका अनुसार अब देश कङ्गाल अवस्थाबाट मुक्त भएजस्तो देखिए पनि त्यो परिवर्तन आम जनताको जीवनमा नभई सत्ताको वरपर सीमित भएको छ।
त्यस्तै, प्रधानमन्त्री शाहले चुनावी अभियानका क्रममा प्रयोग गरेको वाक्यांश “झिक्कै झिक्कै मया तम्लाई” उल्लेख गर्दै उनले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।