काठमाडौं। वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा बझाङ घर भई ललितपुर बस्ने नरेन्द्र बहादुर धमेना, कैलाली घर भई ललितपुर बस्ने दर्शना भण्डारी र रौतहट घर भई भक्तपुर बस्ने राजु प्रसाद कुसवाहा रहेका छन्।
कसले कति ठगे?
प्रहरीका अनुसार २१ वर्षीय नरेन्द्रले बुल्गेरिया पठाइदिने बहानामा तीन जना पीडितबाट ४ लाख रुपैयाँ ठगी गरेका थिए।
२७ वर्षीया दर्शनाले ग्रीस पठाउने भन्दै एक जनाबाट ६ लाख रुपैयाँ लिएकी थिइन्।
त्यस्तै, ५० वर्षीय राजु प्रसादले बेलायत पठाउने प्रलोभन देखाएर एक व्यक्तिबाट ४५ लाख १६ हजार ८९१ रुपैयाँ असुली गरी सम्पर्कविहीन भएका थिए।
कहाँबाट पक्राउ?
नरेन्द्रलाई काठमाडौंको भोटेबहालबाट मंगलबार पक्राउ गरिएको हो।
दर्शना र राजु प्रसादलाई बुधबार क्रमशः ललितपुरको महालक्ष्मी र काठमाडौंको दरबारमार्ग क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
अनुसन्धान जारी
पीडितहरूको उजुरीपछि अनुसन्धान थालेको प्रहरीले उनीहरूमाथि थप अनुसन्धान आवश्यक रहेको जनाएको छ। पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।