काठमाडौं। नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बे ले भदौ २३ र २४ गतेका घटनालाई चयनात्मक रूपमा व्याख्या गरिएको भन्दै सरकार र छानबिन संयन्त्रप्रति कडा आपत्ति जनाएका छन्। संसद्मा धारदार अभिव्यक्ति दिँदै उनले स्पष्ट चेतावनी दिए—“एक दिनको दमन देख्ने, अर्को दिनको ध्वंस मात्र देख्ने प्रवृत्ति स्वीकार्य हुँदैन।”
उनका अनुसार घटनालाई टुक्र्याएर हेर्ने र आफ्नो अनुकूल तथ्य मात्र अघि सार्ने राजनीतिक अभ्यासले सत्यलाई ढाक्ने काम गरिरहेको छ। “२३ गतेको दमन नदेख्ने र २४ गतेको ध्वंस मात्र देख्ने—यो न्याय होइन, यो पूर्वाग्रह हो,” आङ्देम्बेले भने।
आयोगमाथि सीधा प्रश्न
सरकारद्वारा गठित जाँचबुझ आयोगको कार्यशैलीमाथि समेत उनले गम्भीर प्रश्न उठाए। आयोगले २३ गतेको घटनामा अनुसन्धान र कारबाही सिफारिस गरे पनि २४ गतेको घटनामा ‘समय नपुगेको’ बहाना दिएकोप्रति उनले तीव्र असन्तुष्टि जनाए।
“पटक–पटक समय थप्ने, अनि अन्त्यमा समय पुगेन भन्ने—यो साधारण कमजोरी होइन, नियतप्रेरित काम जस्तो देखिन्छ,” उनले कडा टिप्पणी गरे।
प्रतिवेदन सार्वजनिक गर्न दबाब
आङ्देम्बेले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरे।
“सरकारले प्रतिवेदन आफैं सार्वजनिक गर्छ कि भोलि गोरखापत्रमा पढेर थाहा पाउने?” भन्दै उनले सरकारको पारदर्शितामाथि नै प्रश्न उठाए।
उनले नयाँ प्रधानमन्त्रीलाई लक्षित गर्दै भने, “कानुन र प्रक्रियाको मर्यादा राखेर निर्णय गर्नुस्—अन्यथा विश्वासको संकट अझ गहिरिन्छ।”
भौतिक संरचना ध्वंसप्रति पनि प्रश्न
संसद् भवन, सिंहदरबारलगायतका संरचनामा भएको क्षतिप्रति समेत उनले सरकारको जवाफदेहितामाथि प्रश्न उठाए।
“किन खरानी भयो संसद् भवन? किन जल्यो सिंहदरबार? किन ध्वस्त भए संरचनाहरू? यसको उत्तर सरकारले दिनुपर्छ,” उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
स्पष्ट सन्देश: दोषी उम्किन नदिनू, निर्दोष नफसून्
आङ्देम्बेले कांग्रेसको आधिकारिक धारणा दोहोर्याउँदै भने—“दोषी कोही उम्किनु हुँदैन, निर्दोष कोही फस्नु हुँदैन।” तर त्यसका लागि निष्पक्ष, पूर्ण र निर्भीक अनुसन्धान अपरिहार्य हुने उनले जोड दिए।