२०८३, २४ कार्तिक सोमबार
×

विश्व तेल बजारमा झट्का: इरानले हर्मुज जलडमरूमध्य बन्द गर्ने चेतावनी

0 Shares

तेहरान — इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेईले जारी युद्ध रणनीतिबारे नयाँ वक्तव्य दिएका छन्।

उनले हर्मुज जलडमरूमध्य बन्द गर्ने रणनीति अझै पनि प्रयोग गरिने बताएका छन्, जसले विश्व अर्थतन्त्रमा ठूलो असर पार्न सक्ने विश्लेषण गरिएको छ।

मोज्तबा खामेनेईले आफ्ना पिता आयातोल्लाह अली खामेनेईको स्थान लिएका हुन्। अली खामेनेई अमेरिका द्वारा इरानमाथि गरिएको पहिलो चरणको आक्रमणमा मारिएको बताइएको छ। केही स्रोतहरूले सोही घटनामा मोज्तबा पनि गम्भीर रूपमा घाइते भएको बताएका थिए, तर उनले इरानको नेतृत्व सम्हालेपछि पहिलो पटक औपचारिक वक्तव्य दिएका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध लगभग “पूर्ण रूपमा समाप्त भएको” जस्तो देखिएको बताएका थिए। उनले तेलको मूल्य बढिरहेको विषयलाई लिएर खासै चिन्ता नदेखाएका थिए। तेलको मूल्य बढ्नुको मुख्य कारण इरानले हर्मुज जलडमरूमध्यमार्फत हुने जहाज आवागमन अवरुद्ध गर्ने चेतावनी दिनु हो।

हर्मुज जलडमरूमध्य करिब ५० किलोमिटर चौडाइको साँघुरो समुद्री मार्ग हो, जसले पर्सियन खाडीलाई ओमानको खाडी हुँदै अरब सागर र हिन्द महासागरसँग जोड्छ। विश्वको करिब २० प्रतिशत ऊर्जा व्यापार यही मार्गबाट हुने बताइएको छ।

करिब १०० माइल लामो यो समुद्री मार्गको उत्तरतर्फ इरान र दक्षिणतर्फ संयुक्त अरब इमिरेट्स र ओमान रहेका छन्। कुवेत, बहरेन र कतार जस्ता ठूला तेल निर्यातकर्ता देशहरूबाट विश्व बजारमा तेल पठाउने मुख्य समुद्री मार्ग यही हो।

इरानका एक सैन्य अधिकारी सर्दार जब्बारीले हर्मुज जलडमरूमध्य पार गर्न खोज्ने जहाजहरूमा आगो लगाइने चेतावनी दिएका छन्। उनले तेहरानले “क्षेत्रबाट एक थोपा तेल पनि बाहिर जान नदिने” बताएका छन्।

यस जलमार्गबाट तेल मात्र होइन, खाद्यान्न, औषधि, कपडा र प्लास्टिक जस्ता वस्तुको व्यापार पनि हुने भएकाले यो मार्ग लामो समयसम्म बन्द भए विश्व व्यापारमा ठूलो असर पर्ने सम्भावना रहेको छ।

मोज्तबा खामेनेईले इरानी नागरिकको रगतको बदला लिन इरान हिच्किचाउने छैन समेत बताएका छन्। हालै मिनाब नजिकै एक विद्यालय आसपास भएको आक्रमणमा ११० बालबालिकासहित १६८ जनाको मृत्यु भएको इरानले दाबी गरेको छ, तर अमेरिकाले उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।

इरानी राज्य टेलिभिजनमा प्रस्तोतामार्फत पढेर सुनाइएको उक्त वक्तव्यमा उनले छिमेकी देशहरूलाई आफ्नो भूमिमा रहेका अमेरिकी सैन्य आधारहरू बन्द गर्न आग्रह पनि गरेका छन्।

यसैबीच अमेरिकी सेनाका एक उच्च अधिकारी ड्यान केनले आवश्यक परे अमेरिकी नौसेनालाई हर्मुज जलडमरूमध्यमा जहाजहरूको सुरक्षाका लागि परिचालन गर्न सकिने बताएका छन्।

त्यस्तै अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानले तेल आपूर्ति रोक्ने प्रयास गरे अमेरिकाले अझ कडा सैन्य प्रतिक्रिया दिने चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले भने तेलको मूल्य वृद्धि अमेरिकाका लागि फाइदाजनक हुने बताएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलमा उनले लेखेका छन्, “संयुक्त राज्य अमेरिका विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक देश हो, त्यसैले तेलको मूल्य बढ्दा हामीले धेरै पैसा कमाउँछौं।”

साथै उनले इरानलाई परमाणु हतियार प्राप्त गर्न नदिने र मध्यपूर्व तथा विश्वलाई अस्थिर बनाउने प्रयास रोक्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया