२०८२, १३ फाल्गुन बुधबार
×

ट्रेन्डिङ

असम्भव सपना होइन, सम्भव विकासको प्रतिबद्धता : मोरङ–१ मा खड्ग फागो

0 Shares
Spread the love

तेजन खड्का/ बिजय धिमाल ,मोरङ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै मोरङ क्षेत्र नम्बर–१ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा नेपाली कांग्रेसका उम्मेदवार खड्ग फागो ले सस्तो लोकप्रियता हासिल गर्न असम्भव सपना बाँड्ने राजनीति आफूले नगर्ने स्पष्ट पारेका छन्। चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा उनले गर्न सकिने काम मात्रै जनतासामु प्रतिबद्धता गर्ने आफ्नो राजनीतिक धारणा रहेको बताएका हुन्।

 

उनले राजनीति व्यक्तिगत लाभको साधन नभई समाज परिवर्तनको माध्यम भएको उल्लेख गर्दै मोरङ–१ को समग्र विकास आफ्नो प्रमुख लक्ष्य रहेको बताए। “जनताले धेरै आश्वासन सुन्नुभयो, अब परिणाम देखिने काम आवश्यक छ,” उनले भने, “म बोल्नेभन्दा काम गरेर देखाउने राजनीतिमा विश्वास गर्छु।”

 

घरदैलो अभियानमा जनताको उत्साह

यतिबेला मोरङ–१ का विभिन्न नगरपालिका तथा गाउँपालिकामा कांग्रेसको घरदैलो अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ। उम्मेदवार फागो स्वयं गाउँ–गाउँ पुगेर स्थानीय नागरिकका समस्या, सुझाव र अपेक्षा सुन्न व्यस्त छन्। स्थानीयले सडक, खानेपानी, रोजगारी, कृषि उत्पादनको बजार व्यवस्थापन तथा स्वास्थ्य सेवाको पहुँचलाई मुख्य समस्याका रूपमा उठाउने गरेको उनले बताए।

 

घरदैलोका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको दाबी गर्दै उनले विकासका स्पष्ट एजेन्डासहित अघि बढेको नेतृत्वप्रति जनताको भरोसा बढिरहेको उल्लेख गरे। युवादेखि ज्येष्ठ नागरिकसम्मले स्थिर, जिम्मेवार र जवाफदेही नेतृत्व चाहेको अनुभव आफूले गरेको उनको भनाइ छ।

 

विकासका मुख्य एजेन्डा

फागोले मोरङ–१ को विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताउँदै पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेको बताए। उनका अनुसार क्षेत्रको अव्यवस्थित सडक सञ्जाल सुधार, सुरक्षित खानेपानीको व्यवस्था, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि तथा स्वास्थ्य संस्थाको सुदृढीकरण मुख्य लक्ष्य हुन्।

कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन वृद्धि र बजार सुनिश्चित गर्ने योजना रहेको उनले बताए। स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्दै किसानको आम्दानी बढाउने र कृषि आधारित उद्योग विस्तार गर्ने अवधारणा पनि आफ्नो एजेन्डामा रहेको उनले जानकारी दिए।

 

युवा रोजगारी र प्रविधिमैत्री विकास

युवाहरू विदेशिन बाध्य भइरहेको अवस्थालाई चुनौतीका रूपमा लिँदै उनले स्वदेशमै रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए। सूचना प्रविधि, साना तथा मध्यम उद्यम र सीपमूलक तालिममार्फत युवालाई आत्मनिर्भर बनाउने योजना रहेको उनको भनाइ छ।

सरकारी सेवा प्रवाहलाई डिजिटल प्रणालीमार्फत सहज, पारदर्शी र भ्रष्टाचारमुक्त बनाउनेतर्फ पहल गर्ने उनले बताए। “अबको विकास प्रविधिमैत्री हुनुपर्छ, जनताले सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ, उनले भने।

 

सामाजिक एकता र समावेशी विकास

फागोले मोरङ–१ बहुजातीय, बहुसांस्कृतिक क्षेत्र भएकाले सबै समुदायको पहिचान र सम्मानसहित विकास अघि बढाइने बताए। स्थानीय कला, संस्कृति र परम्परालाई संरक्षण गर्दै पर्यटनसँग जोड्ने योजना पनि उनले सार्वजनिक गरे। विकासका कार्यक्रम कुनै क्षेत्र वा समुदायमा सीमित नभई समान रूपमा लागू गरिने उनको भनाइ छ।

 

निर्वाचनलाई लोकतन्त्रको महत्वपूर्ण अभ्यास भन्दै उनले प्रतिस्पर्धी दल र उम्मेदवारप्रति सम्मान व्यक्त गरे। मतदाताको अन्तिम निर्णय नै सर्वोपरि हुने उल्लेख गर्दै उनले जनताको विश्वास जित्न आफू निरन्तर जनतामाझ रहेको बताए।

मोरङ–१ लाई अवसरयुक्त, आधुनिक र समृद्ध क्षेत्र बनाउने स्पष्ट योजना लिएर आएको छु, उनले भने, जनताले जिम्मेवारी दिनुभयो भने परिणाम देखिने गरी काम गर्नेछु।

 

नेपाली कांग्रेसका नेता–कार्यकर्ताको सक्रिय सहभागितासहित चुनावी अभियान क्षेत्रभर उत्साहका साथ अघि बढिरहेको छ। उम्मेदवार फागोले मोरङ–१ को दीर्घकालीन विकासका लागि आफ्नो पक्षमा मतदान गर्न मतदातासँग अपिलसमेत गरेका छन्।

प्रतिक्रिया