काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा प्युठानको प्युठान नगरपालिका-९ घर भई दाङको राप्ती गाउँपालिका-१ बस्ने ३९ वर्षीय इन्द्र बहादुर केसी, धादिङको थाक्रे गाउँपालिका-५ घर भई काठमाडौंको स्वयम्भू बस्ने ४० वर्षीय आइते तामाङ र काठमाडौं महानगरपालिका-१५ बस्ने ३४ वर्षीय विजय गुरुङ रहेका छन्।
पक्राउ मध्ये इन्द्र र आइतेले युके पठाइदिन्छु भन्दै ७ जना पीडितबाट १३ लाख रुपैयाँ र विजयले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए। उजुरीको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इन्द्र र आइतेलाई काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट बिहीबार तथा विजयलाई काठमाडौं महानगरपालिका-१४ बाट आइतबार पक्राउ गरेको हो।
पक्राउ मध्ये इन्द्र र आईतेलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा विजयलाई वैदशिक रोजगार विभाग पठाइएको छ।